सामान आयातका लागि रसुवागढी जाने सबैखाले सवारी साधन मैलुङतर्फको राजमार्गमा केन्द्रित हुन थालेका छन्। जिल्ला ट्राफिक इन्चार्ज शिवप्रसाद भट्टराईका अनुसार वर्षा कम हुँदा गत भदौ ३१ गते पुनः सञ्चालनमा आएको बेत्रावती, मैलुङ, स्याप्रुबेँसीतर्फको राजमार्ग क्रमशः सहज हुन थालेपछि धुन्चे हुँदै केरुङ जाने सबैखाले मालवाहक सवारी साधन बेत्रावतीदेखि मैलुङतर्फ रहेको नयाँ राजमार्गबाट आवतजावत गर्न थालेका हुन्।
दैनिकरूपमा सयाैं सवारी साधन गुड्ने नदी किनाराको राजमार्गमा सुरक्षा जाँचका लागि मैलुङमा सुरक्षा चौकी स्थापना भइसकेको बताइएको छ। गल्छी, त्रिशूली, बेत्रावती, मैलुङ, स्याफ्रुबेँसी सडक सुधार आयोजनाले धादिङको गल्छीदेखि नुवाकोटको शान्ति बजारसम्म सडक सुधार गर्ने काम धमाधम अगाडि बढाइरहेको र अधिकांश ठाउँका राजमार्ग फराकिलोे पारिसकेकाले हिउँदयाममा सवारी साधन गुडाउन सहज हँुदै गएको सवारी चालक रामचन्द्र पुडासैनीले जानकारी दिए।
गल्छीदेखि त्रिशूली, बेत्रावती, धुञ्चे हुँदै स्याफ्रु, रसुवागढीसम्म पुग्न १०३ किलोमिटर दूरी पार गर्नुपर्ने र हिउँदको याममा बेत्रावतीबाट त्रिशूली र भोटेकोशीको किनार हुँदै रसुवागढी पुग्न २५ किमी दूरी कम हुँदा सवारी साधनमा खपत हुने इन्धनको कमी र अर्कोतर्फ बिना घुम्तीको सिधा राजमार्ग भएका कारण केरुङबाट सामान बोकिआएका मालवाहक सवारी साधन गुडाउन सहज बन्दै गएको चालक पुडासैनी बताउँछन्।
बेत्रावतीदेखि मैलुङ हुँदै रसुवागढीतर्फ मालवाहक सवारी साधन गुड्न थालेपछि धुञ्चेतर्फको पासाङल्हामु राजमार्गमा सुनसान बढ्दै गएको धुञ्चेका व्यवसायीले बताएका छन्। टाटासुमो जीपलगायत नियमित यात्रुवाहक सवारी साधन र गोसाइँकुण्ड जाने पर्यटकीय सवारी साधनबाहेक अन्य सवारी साधन धुञ्चेतर्फ नआउँदा व्यापार–व्यवसायमा समेत मन्दी हुँदै गएको स्थानीय युवा राहुल झाले जानकारी दिए।
आफू कम्प्युटरलगायत छापाखाना सम्बन्धित कार्यको व्यवसाय गर्ने भएको र ग्राहकहरुको आगमन अत्यन्तै न्यून रहेकाले व्यवसाय सञ्चालनबाट पसल सटरको भाडा तिर्नसमेत धौधौ पर्न थालेको व्यवसायी झाको गुनासो छ। मोटरमा सामान राखी घुम्ती व्यापार गरी हिँड्ने व्यवसायीहरु पनि धुञ्चेमा खाद्यलगायत विविध सामग्री खपतमा न्यून हुँदै गएपछि मैलुङतर्फको राजमार्ग हुँदै स्याप्रुबेँसी, टिमुरे र थाम्बुचेत केन्द्रित हुन थालेको व्यापारी व्यवसायीले बताएका छन्।
यसैगरी गाउँगाउँमा स्थानीय तहले निर्माण गरेको ग्रामीण सडकसमेत वर्षायामपछि पुनः सञ्चालनमा आएको र खाद्य सामग्री मोटरले गाउँका घरआँगनमा पुर्याउन थालेपछि बेत्रावती तथा कालिकास्थानको बजारमा समेत व्यापार–व्यवसायमा कमी आएको स्थानीयवासी पुरोहित टङ्कप्रसाद ढकालले जानकारी दिए।
रसुवामा २०४२ सालमा नुवाकोटको त्रिशूलीबाट सोमदाङसम्म १०५ किमी सडक निर्माण भएपछि सदरमुकाम मात्र केन्द्रित बस सेवा अहिले गाउँगाउँमा समेत केन्द्रित भएका छन्। दक्षिणी रसुवाको डाडागाउँ, ठूलोगाउँ, सिम्ले–भोर्ले, पारच्याङ, यार्सा, धारापानी, रुपसेपानी, भदौरे, कालिकास्थान, जीवजिवे, सरसिंउ, आरुखर्क, ठूलोभोर्ले, चित्ती, लोकिल, लाङबु, सिङबन्दी, थाङदोर, मनिगाउँ एवं उत्तरी रसुवाको ठूलोस्याफ्रु, बृद्धिम, थुमन, ग्रे गाउँसमेतका क्षेत्रमा ग्रामीण मार्ग निर्माण भई सवारी साधन गुड्न थालिसकेको र कतिपय स्थानमा नियमित बस सेवासमेत सञ्चालन भइसकेको नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए।
हिमाली जिल्लाका रूपमा परिचित रसुवामा स्थानीय तहको निर्वाचन सम्पन्न भएपश्चात् स्थानीय सरकारले विकासको मेरुदण्ड सडक निमार्णलाई पहिलो प्राथमिकता दिएकै कारण अहिले गाउँगाउँमा मोटर जान थालेको र घरघरमा मोटर पुगेपछि परम्परागत भारी बोक्ने डोको–नाम्लोको प्रयोग हट्दै गएकोसमेत नागरिक समाजले जनाएको छ।
रसुवाका वरिष्ठ समाजसेवी दावा फिञ्जो तामाङ भन्छन्, “स्थानीय सरकारले सडक मार्ग निर्माणलाई प्राथमिकता दिएको छ र ग्रामीणवासीले सङ्घीयताको मर्म र भावना बुझ्दै गएका छन्।” हिउँदको याममा प्रत्येक सडकमा चारपाङ्ग्रे र दुईपाङ्ग्रे सवारी साधन गुड्दै जाँदा रसुवाको ग्रामीण बस्तीमा समेत चहलपहल बढदै गएको छ।
नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्पु साङ्वो घलेका अनुसार उक्त गाउँपालिकामा ६८ किमी ग्रामीण सडक निर्माण भइसकेको र बाहै्र महिना सञ्चालन गराउन खोला तथा खोल्चाका पुल र कल्भर्ट निर्माणको प्रक्रिया अगाडि बढिरहेको छ। भौगोलिक विकटताले बढी भारी बोक्ने यार्सा क्षेत्रका बासिन्दामाझ गाउँघरमा मोटर गुड्न थालेपछि परम्पराको डोको–नाम्लो प्रयोग गर्ने प्रचलन हट्दै गएको लाङ्बुका समाजसेवी छेसाङदावा तामाङले जानकारी दिए।