भारतले आफ्नो नक्सामा नेपाली भूमी गाभेकोमा चीनले पनि बोल्यो

फाइल तस्बिर

भारतले आफ्नो राजनीतिक नक्सामा नेपाली भूमी गाभेको विषयमा चीनले पनि प्रतिक्रिया दिएको छ। 

बिहीबार साँझ काठमाडौंस्थित चिनियाँ राजदूतावासले एक विज्ञप्ति जारी गरी चीनले नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गरेको स्पष्ट पार्दै कालापानी क्षेत्रको विवाद मैत्रीपूर्ण परामर्श र वार्ताका माध्यमबाट समाधान गर्ने सदिच्छा व्यक्त गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘चीन सधैँ नेपालको सम्प्रभुता र भौगोलिक अखण्डताको सम्मान गर्छ, चिनियाँ पक्ष सदिच्छा व्यक्त गर्न चाहन्छ कि नेपाल र भारतले मैत्रीपूर्ण परामर्श र सम्वादमार्फत् कालापानीमाथिको बिवाद समाधान गर्नेछन् ।’

दूतावासले केही मिडियाहरुले चीनप्रति लगाएको आरोपप्रति दुःख समेत व्यक्त गरेको छ ।

‘केही गैरजिम्मेवार सञ्चार माध्यम र समूहले चीनले पनि नेपाली भूमि अतिक्रमण गरेको दाबी गरेका छन्’ बिहीबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता वाङले भने, यो आरोप आधारहीन छ ।’

सही के र गलत के भन्नेमा मानिसहरु दिग्भ्रमित पार्न यस्तो प्रचार गरिएको उनले बताए ।

नेपाल र चीनले १९६१ मा सीमासन्बन्धी सन्धिमा हस्ताक्षर गरेको र त्यसअनुसार सीमा तय गरिएको उनले बताए । हालै मात्र भएको चिनिाँ राष्ट्रपति शी जिनपिङको भ्रमणका क्रममा सीमा व्यवस्थापनबारे समेत सहमति भएको स्मरण गर्दै दूतावासका प्रवक्ता वाङले भने, ‘सीमाका विषयमा सहकार्य थप मजबुत बनाउन र बाह्य हस्तक्षेप आउन नदिन चिनियाँ पक्ष तयार छ ।’

उनले नेपाल चीन सम्बन्धलाई कमजोर बनाउने कुनै पनि प्रयास सफल हुन नदिने समेत बताएका छन् ।

तर लिपुलेकबारे भने बोलेनन् । चीन र भारतले लिपुलेकलाई व्यापारिक मार्ग बनाउने सहमति गर्दा नेपालले यो त्रिदेशीय विन्दु भएको भन्दै विरोध गरेको थियो ।लिपुलेक पनि कालापानी क्षेत्रमा पर्छ ।

विज्ञप्तिमा वर्षौयता नेपाल र चीनबीच राम्रो सहकार्य हुँदै आएको समेत जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘चीनले बाहिरी हस्तक्षेपको अवज्ञा गर्दै सीमासम्बन्धी मामिलालगायत सहकार्य थप सुदृढ गर्न चाहेको छ । र, नेपालसँग साझा विकास प्रवद्र्धन गर्न पनि चीनले चाहेको छ ।’ चिनियाँ राष्ट्रपतिले नेपालको सफल राजकीय भ्रमण गर्नुभएको स्मरण गराउँदै विज्ञप्तिमा त्यसक्रममा दुवै पक्षले सीमा व्यवस्थापन प्रणालीसम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएको समेत जनाइएको छ ।

प्रकाशित मिति: : 2019-11-14 20:21:38

प्रतिकृया दिनुहोस्