भलिबलमा नेपाललाई ऐतिहासिक सफलता, माल्दिभ्सलाई हराउँदै नेपाल सेन्ट्रल जोन च्याम्पियन

बिएल

नेपाल बंगलादेशमा जारी एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ।

पहिलो पटक च्याम्पियन बनेको नेपाली राष्ट्रिय महिला भलिबल टोलीले नेपाली भलिबल इतिहासमै ऐतिहासिक स्वर्णपदक जितेको हो।

ढाका मिरपुरस्थित शहिद शुरवार्दी इन्डोर हलमा बिहिबार भएको फाइनलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै नेपाली भलिबल इतिहासमा ऐतिहासिक स्वर्णपदक जितेको हो।

च्याम्पियनसिपमा नेपाल अपराजित र एक सेट पनि नगुमाई च्याम्पियन बन्न सफल भएको हो। त्यसअघि लिग चरणमा पनि नेपालले माल्दिभ्समाथि ३–० को सोझो सेटमै हराएको थियो।

२०१४ मा काठमाडौंमा आयोजना भएको दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपमा जितेको रजतपदक नै नेपाली भलिबलको सबैभन्दा ठूलो पदक थियो।

त्यस्तै नेपालले दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा तीन कास्यपदक जितेको छ। पुरुष भलिबल टोलीले पनि अहिलेसम्म कास्यपदक मात्रै जित्न सफल भएको छ।

त्यसअघि बिहिबारै किर्गिस्तानले घरेलु टोली बंगलादेशलाई ३–० को सोझो सेटमा जित निकाल्दै तेस्रो स्थान हासिल गरेको थियो। किर्गिस्तानले २५–१३, २५–१४ र २५–१२ को सोझो सेटमा जित निकाल्यो ।

गत शनिबारबाट शुरु भएको च्याम्पियनसिपमा ५ राष्ट्रको सहभागिता थियो। राउन्ड रोविन लिगपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित मिति: : 2019-11-14 16:55:53

प्रतिकृया दिनुहोस्