प्रधानाध्यापकलाई खुकुरी प्रहार गर्ने पक्राउ

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–२ रुमस्थित राष्ट्रिय जनकल्याण आधारभूत विद्यालयकी प्रधानाध्यापक इन्द्रकुमारी पुनलाई खुकुरी प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन्।

घरबाट विद्यालय जाँदै गरेकी प्रधानाध्यापक पुनलाई बुधबार खुकुरी प्रहार गरी फरार भएका म्याग्दीको मालिका गाउँपालिका–२ रुम बिलबाङका २७ वर्षीय रमेश पुनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरी टोलीले निस्कोट र रुमको बीचमा रहेको खोलाबाट उनलाई नियन्त्रणमा लिएकोे प्रहरीले जनाएको छ। पक्राउ परेका रानालाई प्रहरी थुनामा राखी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

बाटोमा हिँडिरहेकै अवस्थामा खुकुरी प्रहारबाट गम्भीर घाइते बनेकी प्रअ पुनलाई उपचारका लागि हेलिकप्टरमार्फत पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा लगिएको छ।

घाइते भएकी पुनको कान, टाउको र हातमा गम्भीर चोट लागेको छ। अहिले घाइते पुनको अवस्थामा सुधार आएको र उनी बोल्न र मान्छे चिन्न सक्ने अवस्थामा रहेको बताइएको छ।

प्रकाशित मिति: : 2019-11-14 09:51:46

प्रतिकृया दिनुहोस्