निदान अस्पतालमा मिर्गौला 'तस्करी काण्ड' : सिइओसहित ५ जना जेल चलान

फाइल तस्बिर

ललितपुरको निदान अस्पतालमा अनाधिकृत रुपमा मिर्गौला प्रत्यारोपण गराइएको घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका ५ जना थुनामा पठाइएका छन्।

ललितपुर जिल्ला अदालतले अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विपेन्द्र प्रधानसहित ५ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको एसपी गोविन्द थपलियाले जानकारी दिए।

अदालतको आदेशपछि उनीहरुलाई नख्खु कारागार चलान गरिएको छ ।

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले एक महिना लामो अनुसन्धानपछि पक्राउ गरी २९ असोजमा प्रधानसहित लिगल अफिसर कुमुदकुमार भट्टराई, चिकित्सक डा. राजेश पन्त, जिल्ला प्रशासन कार्यालय, ललितपुरका शाखा अधिकृत रामचन्द्र आले र मिर्गौला प्रत्यारोपण गरिएका रामेछापका शंकारलाल लामालाई सार्वजनिक गरेको थियो।

शंकरका छोरा शिशिरसँगै सक्कली भाञ्जा सञ्जिव घिसिङ र उनकी फुपुलाई पनि फरार प्रतिवादी कायम गरिएको थियो।

प्रकरणमा संलग्न ४ जना भने अझै फरार छन् । उनीहरु सबैमाथि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ बमोजिम १० वर्ष कैद र दुई लाख रुपैयाँदेखि ५ लाख रुपयाँसम्म जरिवाना माग दाबीसहित अभियोग दर्ता छ ।

प्रकाशित मिति: : 2019-11-13 13:50:53

प्रतिकृया दिनुहोस्