रोनाल्डोलाई दुई वर्षे प्रतिबन्ध लाग्न सक्ने !

तस्बिरः एजेन्सी

पोर्चुगिज तथा युभेन्टसका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई कम्तीमा पनि दुई वर्ष प्रतिबन्ध हुन सक्ने जोखिम बढेको छ।

इटालियन सिरी ‘ए’ अन्तर्गत आइतबार मिलानविरुद्ध खेल चल्दै गर्दा रोनाल्डो मैदानबाट बाहिरिएपछि उनलाई प्रतिबन्धको जोखिम बढेको हो।

एसी मिलानविरुद्ध १–० को जित निकालेको खेलमा रोनाल्डोलाई खेलको ५५औं मिनेटमा परिवर्तन गरेपछि रुष्ट बन्दै बेञ्चमा नगई ड्रेसिङ रुममा छिरेका थिए। त्यसपछि खेलको ३ मिनेट समय बाँकी रहँदा उनी स्टेडियमबाट बाहिरिएका थिए।

खेल नसकिदै स्टेडियमबाट बाहिरिएसँगै उनलाई एन्टी डोपिङ नियमका आधारमा कम्तीमा पनि दुई वर्ष प्रतिबन्ध हुन सक्ने इटालीका पुर्व इटालियन फरवार्ड एन्टोनियो कसानोले बताएका छन् ।

‘उनी खेल सकिन ३ मिनेट बाँकी रहँदै स्टेडियमबाट बाहिरिएका छन्। यो एन्टी डोपिङको नियम भित्र पर्छ। उनी तुरुन्त फर्कनुपर्ने थियो। मैले पनि विगतमा यस्तै प्रतिबन्धबाट बचेको छु। लाजियोविरुद्ध खेलेपछि मैले रंगशाला छोडेको थिएँ तर प्रतिबन्ध हुने थाहा पाएपछि तुरुन्तै म रंगशाला फर्किएँ,’ कासानोले भने ।

मिडिया रिपोर्टका अनुसार रोनाल्डो विस्तारै आउट अफ फर्ममा रहेको र यही कारण पनि उनी र प्रशिक्षकबिच सम्बन्ध बिग्रिदै गएको हो ।

तर, रोनाल्डोले देखाएको व्यवहारका कारण फ्यानहरु दुःखी भएको बताइएको छ ।

 

 
 
प्रकाशित मिति: : 2019-11-12 16:52:20

प्रतिकृया दिनुहोस्