अमेरिकी एनजीओका प्रतिनिधिसँग सांसदको गुनासो: हामीले अमेरिका अहिलेसम्म देख्न पाएका छैनौं

बिएल

अमेरिकी एनजीओका प्रतिनिधिसँग नेपालका सांसदहरुले आफूहरु खर्च गर्न सक्ने अवस्थामा नरहेको गुनासो गरेका छन् ।

नेपाल र अमेरिकाको संसदीय अभ्यासका बारेमा अमेरिकी गैरसरकारी संस्था एचडीपीले गरेको अनुभव आदानप्रदानका क्रममा सांसद माया ज्ञवालीले नेपालका सांसदसँग ट्याक्सी चढ्ने पैसा पनि नहुने बताइन् ।

सांसदलाई साधन स्रोत केही नभएको, अमेरिका अहिलेसम्म नदेखेको जस्ता गुनासो राखेकी थिइन् । ज्ञवालीले आफ्नो अनुभव सुनाउँदै भनिन्, ‘हामी दयनीय अवस्थामा छौँ, हामीले बोलेको कसैले सुन्दा पनि सुन्दैन,मैले त अमेरिका पनि देखेकी छैन । तपाईहरुले सहयोग गर्नुभयो भने देख्ने मौका पाउनेछु । तालिम दिनुभयो आभारी छौ’ उनले थपिन्, ‘मैले त रोजेको संसदीय समितिमा पनि बस्न पाएकी छैन । धेरै ठूलो समस्या छ ।’ यसरी विदेशी सामू नेपालका सांसदहरुले नेपालकै बेइज्जत गरेका छन् ।

त्यस्तै सत्ता पक्षका सांसदहरुले त संसदमा सत्तापक्षको सांसद भएपछि संसदमा प्रश्न समेत गर्न नपाएको गुनासो गरेका थिए । सांसद लक्ष्मी परियारले अनुभव सुनाउने क्रममा भनिन् ‘तपाईँहरुसँग विज्ञ कर्मचारी हुन्छन् भन्नुभयो, हाम्रोमा त्यस्ता कर्मचारी पनि हुँदैनन् र खर्चको पनि व्यवस्था हुँदैन । हामी जिल्ला जान नै सक्दैनौँ । बरु तपाईँहरुले हाम्रा माथिल्लो निकायका मानिसहरुलाई भेटेर खबर सुनाइदिनुपर्‍यो ।’

सांसद मानबहादुर विश्वकर्माले प्रधानमन्त्री र मन्त्रीहरुले बोलेको कुरा पूरा नगर्ने र विपक्षीको सरोकारलाई सुनुवाई पनि नगरेको गुनासो राखे ।

नेपालका सांसदहरुले राखेको जिज्ञासाको जवाफ अमेरिकी पूर्वसांसद बब गुडलाडे र अमेरिकी संसदको सल्लाहकारमा ३६ वर्ष काम गरेका ब्राड स्मिथले जवाफ दिएका थिए ।

उनीहरुले अमेरिकाको संदमा ७ सय जना भन्दा बढीको अनुसन्धान टोली रहेको र एक जना सांसदको टिममा १८ जनासम्म अनुसन्धानकर्ता रहने बताएका थिए ।यही संस्थाको आयोजनामा मंगलबार ललितपुरमा भएको कार्यक्रममा अमेरिकी संसद र नेपालको संसदीय अभ्यासबारे अन्तर्क्रिया भएको हो ।

प्रकाशित मिति: : 2019-11-12 14:39:10

प्रतिकृया दिनुहोस्