बंगलादेशका राष्ट्रपति नेपालमा

बिएल

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मंगलबार काठमाडौँ आइपुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा हमिद नेपाल आएका हुन्।

तीन दिन भ्रमणका क्रममा नेपाल आएका उनलाई स्वागत गर्न राष्ट्रपति भण्डारी विमास्थल पुगेकी थिइन् ।

भ्रमणका क्रममा उनले उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीसहित विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रपति हमिद आजै भक्तपुरको ऐतिहासिक स्थलको भ्रमणका लागि जानेछन् भने साँझ राष्ट्रपति भण्डारीले आयोजना गरेको रात्रिभोजमा सहभागी हुनेछन् ।

सन् १९४४ मा जन्मिएका हमिद सन् २०१३ मा पहिलो पटक बंगलादेशको राष्ट्रपति निर्वाचित भएका थिए। राष्ट्रपतिको दोस्रो कार्यकालका लागि उनी सन् २०१८ मा पुनःनिर्वाचित भएका थिए। राष्ट्रपति हुनुअघि उनी बंगलादेशको राष्ट्रिय संसदको सभामुख रहेका थिए। उनले सन् २००९ देखि २०१३ सम्म सभामुखको जिम्मेवारी सम्हालेका थिए । सन् २०१३ मा तत्कालीन बंगलादेशका राष्ट्रपति जिलुर रहमानको मृत्यु भएपछि उनी कार्यकारी राष्ट्रपतिसमेत भएका थिए।

सन् १९७१ मा बंगलादेश पाकिस्तानबाट स्वतन्त्र भएपछि १९७२ मा नेपाल र बंगलादेशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। बंगलादेशको स्वतन्त्रतालाई स्वीकार्दै त्यसलाई मान्यता दिई कूटनीतिक सम्बन्धको हात अघि बढाउने नेपाल विश्वको सातौं देश हो।

प्रकाशित मिति: : 2019-11-12 13:47:06

प्रतिकृया दिनुहोस्