भीभीआईपी जुवाडे पक्राउ प्रकरणः आज सम्पत्ति शुद्धिकरण विभागमा बुझाइँदै

फाइल तस्बिर

महाराजगञ्जमा जुवाको खालबाट पक्राउ परेका २५ जनाको सम्पत्ति छानविन हुने भएको छ । गएको कात्तिक १० गते महाराजगञ्जमा जुवाखालबाट २ करोड ६७ लाख रुपैयाँसहित पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानका लागि मंगलबार सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा बुझाउने महाराजगञ्ज प्रहरी वृत्तका डीएसपी उमेश लम्सालले जानकारी दिए ।

जुवा खेलेको अभियोगमा दायर भएको मुद्दामा जिल्ला प्रशासन कार्यालयले धरौटीमा रिहा गर्नासाथ सोमबार फेरि पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धानका लागि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा बुझाउन लागिएको हो ।

क्यासिनो किङका रुपमा चिनिएका बले भनिने बलराम सापकोटासहित सोभित सिलवाल, प्रदीप बोगटी, रामकृष्ण केसी, इन्दु श्रेष्ठ, रञ्जन राजबंशी, सीताराम खड्का, रोशन तामाङ, राम तामाङ, कृष्ण भण्डारी, सुमन गुरुङ, सुमन अग्रवाल, सोदेल कार्की, पवन अग्रवाल, पवित्रकुमार कार्की, बलराम सापकोटा, मुक्ति लामा, भक्त तामाङ, शम्भु बुढाथोकी, प्रेम थापामगर, अशोक श्रेष्ठ, हलामप्रसाद पराजुली, बुद्ध लामा, थम्कु शेर्पा र नवाङ लामा पक्राउ परेका थिए ।

पक्राउ परेका उनीहरुको साथबाट दुई करोड ६७ लाख नगद, बैंक अफ काठमाडौंको ३ लाख रुपैयाँको चेक, ३२ थान कौडा र ४ बुक तास बरामद भएको थियो ।

बरामद भएका हजार र ५ सय रुपैयाँका नोट गन्न प्रहरीलाई करिब ३ घन्टा लागेको थियो ।

प्रकाशित मिति: : 2019-11-12 11:58:13

प्रतिकृया दिनुहोस्