‘माछी मार्न जाऊँ है दाजै, कालापानीमा’ विधान श्रेष्ठको यो गीत निकै घन्किने गर्थ्याे सरकारी रेडियो र टेलिभिजनमा समेत। गीत गाउने र सुन्ने दुवै यतै छन्।
बेलाबखतमा यो गीत घन्किन्छ, थपडी बजाइन्छ र, जिन्दावाद/मुर्दावादका नारा लगाइन्छ। चुनावी प्रचार तथा आन्दोलनका ढ्वाङमा जोडसँग बज्ने गर्छ यो गीत। मात्रा, आयतन र घनत्वको फरक होला, तर कालापानीको माछालाई साइत मानेर सत्ताको होलीवाइन चाख्ने रहर सबै दलले गरेकै छन्। यद्यपि, सत्तामा पुगेपछि कालापानीको माछा त के झिङ्गासमेत मार्न नेपाली राजनीतिक दलहरूले आजसम्म जाँगर चलाएको देखिन्न।
पहिलोपटक प्रधानमन्त्री निर्वाचित भएपछि नेपाल भ्रमण गर्ने क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारतबीच सीमा विवादलगायत अन्य विवाद समाधान गर्न नेपाली पक्षसमक्ष आह्वान गरेका थिए। सोल्टी होटलको रात्रिभोजमा भारतीय प्रधानमन्त्रीले यसो भनिरहँदा नेपाली पक्ष हैदरावादी बिर्यानीको स्वादमा रमाइरहेको हुनुपर्छ, शायद। नभए पक्कै पनि नेपाली पक्षले सीमा विवादबारे स्पष्टसँग आफ्ना आधिकारिक अडान भारतीय पक्षसमक्ष प्रस्तुत गर्यो भन्ने समाचार नेपालीको कानमा पर्न नहुने कुनै कारण थिएन।