कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत नेपाल र कुवेतबीचको खेल भुटानमा हुने पक्का भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार एक विज्ञप्ति निकाल्दै नेपाल र कुवेतबीचको खेल भुटानमा हुने निश्चित भएको जनाएको छ ।नेपाल र कुवेतबीचको खेल मंसिर ३ गते हुनेछ ।
खेल थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा हुने एन्फाले जनाएको छ ।
विश्वकप छनोट अन्तर्गत नेपालको पहिलो होम खेलको रुपमा रहेको यस खेल यस अघि दशरथ रंगशाला हुने तय भएको थियो । तर, पुनः निर्माण भइरहेको नेपालको दशरथ रंगशाला अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नबनेपछि फिफा र एसियन फुटबल फेडेरेसन (एएफसी) ले खेल न्युट्रल भेन्युमा गर्न एन्फालाई निर्देशन दिएको थियो ।
सन् २०२३ मा चीनमा आयोजना हुने एएफसी एसिया कप छनोटको रुपमा समेत हेरिएको विश्वकप छनोटमा नेपाल समूह बी मा रहेको छ ।
छनोटको सबै अवे खेल खेलिसकेको नेपालले ४ खेलमा ३ अंक जोडेको छ । नेपाल समूहको चौंथो स्थानमा छ ।