जुवामा संलग्न रहेको आरोपमा पक्राउ परेका सेनानी राजेन्द्र शाहीलाई सैनिक प्रहरी गण, जंगी अड्डाले प्रहरीलाई बुझाएको छ।
महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको टोलीले राजधानीको टोखा नगरपालिका वडा नं.१० सामाखुशीस्थित खरीबोट ईलाकाबाट शाहीसहित ७ जनालाई गत कार्तिक १५ गते पक्राउ गरिएको थियो ।
प्रहरीको टोलीले शाही समेत सहभागी जुवाको खालबाट १ लाख ५९ हजार रुपैयाँ बरामद गरेको थियो ।
अनुसन्धानका लागि महानगरीय प्रहरी वृत, महाराजगञ्जबाट शाहीलाई उपस्थित गराइ दिनको लागि पत्राचार गरेपछि आइतबार बुझाइएको होl
सैनिक प्रहरी गण, जंगी अड्डाले एक विज्ञप्ति निकाल्दै गल्ती गर्ने जो कसैलाई पनि नियम बमोजिम कडा कारवाही गर्ने नीति नेपाली सेनाले अवलम्बन गर्दैद आइरहेको भन्दै नीतिलाई थप प्रभावकारी बनाउन नेपाली सेनामा पुरस्कार र दण्ड सजाय सम्बन्धी निर्देशिका समेत लागू गरिएकोले उनलाई बुझाइएको उल्लेख गरिएको छ ।
'गैर कानूनी कार्यमा संलग्न सैनिक व्यक्तिहरु उपर सैनिक ऐन बमोजिम कारवाही गरिने तथा अनुसन्धानको लागि प्रहरी प्रशासनबाट उपस्थित गराई दिन अनुरोध भई आएमा अनुसन्धानमा सहयोग पुर्याउन संलग्न सैनिक व्यक्तिलाई उपस्थित गराउने गरिएको छ', विज्ञप्तिमा भनिएको छ ।