व्यवसायी तथा पूर्व अर्थ सहायक मन्त्री डा. रुप ज्योतिले जिल्ला अदालतमा आफ्नो बहस आफैंले गर्ने भएका छन् ।पीडित आफैंले अदालतमा बहस गर्नु सक्ने प्रावधानका आधारमा ज्योतिले आफ्नो मुद्धामा आफैले बहस गर्न लागेका हुन् ।
राजधानीको बाँसबारीस्थित एक जग्गा विवादका कारण गत बिहिबार सिंगापुरबाट नेपाल फर्केलगत्तै ज्योतीलाई प्रहरीले विमानस्थलमा पक्राउ गरेको थियो । प्रहरीले शुक्रबार ज्योतीलाई म्याद थपका लागि जिल्ला अदालत पेश गरेको थियो । प्रहरीले पाँच दिनको म्याद मागे पनि अदालतले ३ दिनको म्याद दिएको थियो ।
आइतबार (आज) अदालतमा हुने बहसमा ज्योति आफैले बहस गर्ने उनका वकिल अरुण ज्ञवालीले बताए ।‘आफु पक्राउ पर्नुको ठोस कारण र जघन्य अपराध जसरी हिरासतमा लिइयो त्यसको कारण खोज्नकै लागि उहाँ आफैंले बहस गर्नुहुने भएको हो,’ उनले भने ।
‘यो मुद्धामा सबै कुरा प्रष्ट छ, जसले ठगिएको भनेर निवेदन दिएका छन् त्यो निवेदन दर्ता हुनु ३ दिनअघि नै त्यहि रकम फिर्ताका लागि ज्योतिजीले अदालतमा जम्मा गरिसकेको अवस्था छ, यसमा वकिलले बहस गरेर हुने केहि देखिएन,’ अर्यालले भने ।
ज्योतीको बहस काठमाडौं जिल्ला अदालतको ११ नम्बर बेन्चमा हुँदैछ ।