जर्मन बुन्डेस लिगा फुटबलमा साविक विजेता वायर्न म्युनिखले फराकिलो जित हात पारेको छ ।
शनिबार राती भएको खेलमा वायर्नले बोरुसिया डर्टमण्डलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।वायर्नको जितमा रोबर्टो लेवान्डोस्कीले दुई गोल गरे भने सेर्गी गनाब्रे एक गोल गरे । एक गोल भने डर्टमण्डका माट हुमेल्सले उपहार दिएका थिए ।
घरेलु मैदानमा लेवान्डोस्कीको गोलबाट वायर्नले १७ औं मिनेटमा सुरुवाती अग्रता बनाएको थियो । ४७ औं मिनेटमा सेर्गी गनाब्रेको गोलबाट वायर्नले अग्रता दोब्बर बनायो ।
खेलको ७६ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै वायर्नलाई ३–० को अग्रता दिलाए ।
त्यसपछि खेलको ८० औं मिनेमा हुमेल्सले आत्मघाती गोल गर्दै वायर्न ४-० ले विजयी भयो ।
जितसँगै वायर्नले ११ खेलबाट २१ अंक जोडेको छ । र, वायर्न लिगको तेस्रो स्थानमा उक्लिएको छ । पाँचौं स्थानको डर्टमण्डको १९ अंक रहेको छ ।