कालापानी र लिपुलेकसहित महाकाली नदी पनि फिर्ता माग्नुपर्छ: देउवा

बिएल

प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको सर्वदलिय बैठकमा सहभागी नेताहरुले कालापानी नेपालकै भएको बताएका छन् ।

भारतले हालसालै जारी गरेको नक्सामा कालापानी, लिपुलेक र लिम्पयाधुरालाई आफ्नो भूभाग भनेको छ। प्रधानमन्त्रीले डाकेको बैठकमा सहभागी नेताहरुले कालपानी नेपालको हो भन्नेमा सबैको साझा मत रहेको बताएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सर्वदलिय बैठकमा भारतले नेपाललाई हेपेको भन्दै त्यसको पहल थाल्न पनि प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।

सरकारले लिएको अडान सही भएको पनि उनीहरुले बताएका छन् । तर वक्तव्य मात्र जारी गरेर नपुग्ने भन्दै तत्काल भारतसँग सम्वाद गर्न सुझाएका छन् । ‘विवाद र छलफलमा रहेको विषय भारतले किन यस्तो गर्‍यो भनेर नेपालले सोध्नुपर्छ, वक्तव्य मात्र दिएर हुँदैन’ बैठकमा सहभागी पूर्वपरराष्ट्रमन्त्री एवं राप्रपा संयुक्तका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले भनेका छन् ।

बैठकका प्रमुख विपक्षी दलका नेता एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कालापानी लगायतका भूमि नेपालको भएको धारणा राखे । ‘महाकाली नदी पूर्वका हाम्रा सबै भूभाग फिर्ता लिन सरकारले उच्चस्तरीय कूटनीतिक र राजनीतिक पहल गर्नुपर्छ । यसका लगि हाम्रो पूर्ण साथ रहनेछ’, उनले बैठकमा भनेका छन् ।

यता पूर्वप्रधानमन्त्री एवम् समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले परराष्ट्र सचिवको बैठकको अर्थ नभएको भन्दै प्रधानमन्त्रीलाई सिधै भारतीय समकक्षी नरेन्द्र मोदीसँग कुरा गर्न सुझाव दिए।

‘परराष्ट्रसचिवको बैठकको अर्थ छैन’, बैठकमा भट्टराईले भने, ‘भारतीय प्रधानमन्त्रीलाई नै सम्पर्क गरेर राजनैतिक आयोग बनाएर समाधान गर्नुपर्छ। सीमा विवादको समाधान राजनीतिक तहबाटै गर्नुपर्छ।’

बाबुरामले राष्ट्रियताको सवालमा सबै दल एकमत हुनुपर्नेमा समेत जोड दिए। उनले सुरुका नक्सा, २०१५ सालको चुनाव र २०१८ सालको जनगणनालाई आधार बनाएर समाधान खोज्नुपर्नेमा पनि जोड दिए।

प्रकाशित मिति: : 2019-11-09 21:28:58

प्रतिकृया दिनुहोस्