‘सुरुङ युग’ नआउँदै नेपालमा २५० किलोमिटरभन्दा बढी सुरुङ !

Photo Credit :Onlinekhabar.com

गत चैत ८ गते बुटवल–नारायणगढ सडकखण्डको शिलान्यास गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए, ‘२०८० देखि नेपालमा सुरुङ युग सुरु हुन्छ ।’ कात्तिक ४ गते नागढुंगामा बन्ने सुरुङमार्ग शिलान्यास गर्दा पनि उनले नेपाल सुरुङमार्गको नयाँ युगमा प्रवेश गरेको बताए । प्रधानमन्त्रीका यी भनाइहरुले सुरुङ प्रविधिप्रति उनको मोहलाई झल्काउँछन् । यद्यपि, सुरुङ निर्माण र उपयोगमा नेपाल यसअघि पनि अनुभवहीन चाहिँ होइन ।

बिज्ञहरु नेपालमा मानव निर्मित सुरुङको प्रयोग ४ सय वर्ष पहिल्यै पाल्पाको अर्गलीबाट सुरु भएको दाबी गर्छन् । नेपाल टनेलिङ एशोसियसनका अनुसार नेपालमा सुरुङको इतिहास निकै पुरानो हो । राजनीतिक अस्थिरता र देशको कमजोर अर्थतन्त्रले सुरुङ प्रविधिलाई आत्मसात गर्न भने नेपाललाई निकै वर्ष लाग्यो ।

 एशोसिएसनका अध्यक्ष तथा सुरुङ विज्ञ डा. ज्ञानेन्द्रलाल श्रेष्ठका अनुसार नेपालमा अहिलेसम्म करिब २५१ किलोमिटर सुरुङ बनिसकेको छ । तर, यीमध्ये सुरुङ मानिसका लागि नभएर जलविद्युत आयोजनामा बनेका हुन् । पानीलाई बाँधस्थलबाट पावरहाउससम्म पुर्‍याउन यस्ता सुरुङ प्रयोग गरिन्छन् ।

प्रकाशित मिति: : 2019-11-08 14:53:34

प्रतिकृया दिनुहोस्