रूदै जेल गए महरा (भिडियाेसहित)

फाइल तस्बिर

संसद् सचिवालयकी महिला कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयासको अभियोगमा पूर्वसभामुख कृष्णबहादुुर महरा पुर्पक्षका लागि जेल चलान भएका छन् ।

सोमबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलाशले महरालाई मुद्दाको अन्तिम सुनुवाइ नसकिएसम्मका लागि थुनामा राख्न आदेश दिएको हो । उनलाई थुनाका लागि डिल्लीबजार कारागारमा पठाइएको छ ।

बन्द इजलाशमा भएको थुनछेक बहसमा महराका तर्फबाट वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरू रमनकुमार श्रेष्ठ, शेरबहादुर केसी, लवप्रसाद मैनाली, भोजराज आचार्य, सविता भण्डारी र कृष्णप्रसाद सापकोटाले बहस गरेका थिए ।

महरा पक्षका कानुन व्यवसायीहरुले रोशनीमाथि बलात्कारको प्रयास नगरेकाले साधारणा तारेखमा छुट्नुपर्ने माग गरेका थिए । तर, सरकारी वकिलहरूले भने शाहीमाथि बलात्कार प्रयास गरेको तत्कालीन अवस्थामा प्राप्त प्रमाणहरूले पुष्टि गरेको दाबी गरेका थिए।

अदालतबाट बाहिरिँदा रुँदै निस्किएका थिए उनी । अरु दिन शिर ठाडो गरी अदालत धाएका उनी आज भने निहुरिएरै त्यही राखिएको प्रहरीको नीलो गाडीमा उक्लिए । गाडीमा बसेलगत्तै पनि उनी रोएका थिए।

उनलाई अदालतले रिहाइ गर्न नमानेपछि बाहिरिँदा रुँदै निस्किएका थिए । निहुरिएरै त्यही राखिएको प्रहरीको नीलो गाडीमा उक्लिए । गाडीमा बसेलगत्तै पनि उनी रोएका थिए।

यसअघि बहसमा पीडित भनिएकी रोशनी शाही पनि उपस्थित थिइन् । महराले आफूमाथि बलात्कार प्रयास गरेको भन्ने उजुरी प्रहरीमा आफैंले दिएको कुरा उनले बहसका क्रममा बताएकी थिइन् ।

महराविरुद्ध बिहीबार बलात्कार प्रयासमा मुलुकी अपराध संहिताको दफा २१९ (३) अनुसार १८ वर्षभन्दा बढी उमेरकी महिलासँगको करणीमा न्यूनतम सातदेखि अधिकतम १० वर्षसम्म कैदको व्यवस्था छ । महराको हकमा करणी प्रयास उद्योगमा मुद्दा दर्ता गरिएकाले उक्त सजायको आधामात्र माग दाबी गरिएको छ । जसअनुसार साढे सात वर्षसम्म कैद दाबी गरिएको थियो ।

उनीमाथि सार्वजनिक पद धारण गरेको व्यक्तिले कसुर गरेकाले अभियोगपत्रमा थप डेढी सजाय माग गरिएको छ । फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐनको दफा १५ (२) को (ङ) अनुसारको सजाय दाबी गरिएको थियो ।

सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दर्ता गरेपछि बयान दिन उनी आइतबार अदालतमा उपस्थित भएका थिए। बिहीबार अबेर मात्र मुद्दा दायर भएकाले शुक्रबार अबेरसम्म पनि महरालाई बयान गराइएको थियो।

बन्द इजलासमा लिइएको बयानमा उनले आफू रोशनीको कोठामा नपुगेको दाबी गरेका थिए ।

रोशनीलाई सम्झाउन पुगेको तर आफूमाथि गलत आरोप लगाएको भन्दै उनले आफ्नै बचाउ गरेका थिए । महराले रोशनीले आफूलाई धम्की दिएको पनि बयान दिएका छन् । महराले रोशनीसँग अभिभावकको सम्बन्ध भएको स्वीकार गर्दै यस्तो आरोप किन लगाइन् त्यसबारे आफू अनभिज्ञ रहेको दाबीसमेत गरेका थिए ।

असोज १३ गते साँझपख 'हाम्राकुरा' ले रोशनीमाथि महराले जर्बजस्ती करणी गरेको समाचार प्रकाशित गरेको थियो । त्यही दिन साँझ महराका प्रेस संयोजक डिल्ली मल्लले महरामाथि लगाएको आरोप निराधार भएको भन्दै खण्डन गरेका थिए ।

तर, महरामाथि चौतर्फी रूपमा नैतिक प्रश्नहरू उठेपछि असोज १४ गते दिउँसो सत्तारुढ नेकपाले उनलाई सभामुख पदबाट राजीनामा गर्न दबाबसमेत दिएको थियो । त्यही दिन साँझमा महराले पदबाट राजीनामा दिएका थिए ।

घटनालाई रोशनीको बयानले ‘ट्वीस्ट’समेत थपेको थियो । रोशनीले पटक–पटक बयान फेरेकी थिइन् । महराले आफूमाथि बलात्कार र कुटपिट गरेको आरोप लगाएकी उनले घटना चरम उत्कर्षमा पुगेपछि  बुबा समान रहेको भन्दै उनी निर्देष रहेको बताएकी थिइन् ।

तर असोज १८ गते उनले महानगरीय प्रहरी वृत्त बानेश्वरमा गएर महराविरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।

रोशनीले किटानी जाहेरी दिएको भोलिपल्टै अर्थात असोज १९ गते प्रहरीले महरालाई सरकारी निवासबाटै पक्राउ गरेको थियो । पक्राउ परेको २८ दिनपछि महराको मुद्दामा अदालतले आदेश दिएको हो ।

काठमाडौं जिल्ला अदालतको आदेशानुसार मुद्दा प्रक्रिया नटुंगिदासम्म महराले थुनामै रहनुपर्ने छ । यद्यपि, महराले जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध माथिल्लो अदालतमा पुनरावेदन गर्न पाउने छन् ।

फौजदारी मुद्दाको पुर्पक्षका लागि थुनामा चलान भएसँगै महरा प्रतिनिसभा सदस्य (सांसद) पदबाट स्वतः निलिम्बित भएका छन् ।

 

 

प्रकाशित मिति: : 2019-11-04 17:06:27

प्रतिकृया दिनुहोस्