विदेशमा नेपाल भ्रमण वर्ष २०२० जनवरी ७ देखि : १२ बुँदे निर्देशन जारी

'नेपाल भ्रमण वर्ष २०२०' : स्वदेशमा जनवरी १ देखि, विदेशमा जनवरी ७ देखि । तस्बिर : नेपाल भ्रमण वर्ष २०२० सचिवालय

नेपाल सरकारले विदेशमा ‘नेपाल भ्रमण वर्ष २०२०’ को शुभारम्भ जनवरी ७ मा गर्ने घोषणा गरेको छ ।

सरकारले विदेशस्थित नेपाली नियोगहरुलाई एक परिपत्र जारी गर्दै यस्तो जानकारी गराएको हो ।  

सरकारले जारी गरेको १२ बुँदे परिपत्रमा सन् २०२० जनवरी ७, शनिवारका दिन दूतावास, महावाणिज्य दूतावास, कन्सुलर, पर्यटन प्रतिनिधि तथा भ्रमण वर्षका सदभावनादूतहरुको आयोजनामा भव्य शुभारम्भ समारोह आयोजना गर्न निर्देशन दिइएको छ । 

शुभारम्भ कार्यक्रममा सम्बन्धित देशका राष्ट्र प्रमुख, सरकार प्रमुख, मन्त्रीजस्ता विशिष्ठ अतिथिका साथै स्थानीय जनप्रतिनिधि, गैरआवासीय नेपाली, पर्यटन, वाणिज्य, संस्कृति क्षेत्र एवं खेलाडी र कुटनीति क्षेत्रलगायतका प्रतिनिधिको समेत व्यापक सहभागिता गराउन निर्देशन दिइएको छ ।  

परिपत्रमा नेपाल भ्रमण वर्ष २०२० को बढीभन्दा बढी प्रचार प्रासरको व्यवस्था मिलाउन पनि आग्रह गरिएको छ । 

सरकारको १२ बुँदे परिपत्र 

१. प्रमुख शहरमा स्थानीय ट्राभल एजेन्सी, टूर अपरेटर, एयरलाईन्स कम्पनी लगायतको भेला गरी नेपाल भ्रमण वर्षको प्रवर्द्धनका लागि योजना बनाउने ।

२. प्रमुख शहरहरुमा नेपालको पर्यटन प्रवर्द्धन सम्वन्धि गोष्ठी, सेमिनार लगायतका कार्यक्रम आयोजना गर्ने यस्ता कार्यक्रममा सम्वन्धित देशका प्रवुद्ध व्यक्तित्व तथा संघ-संस्थाहरुको बढीभन्दा बढी प्रतिनिधित्व गराई कार्यक्रम सञ्चालन गर्ने गराउने व्यवस्था गर्ने ।

३. नेपालको भ्रमण गरेका सम्वन्धित देशका प्रवुद्ध व्यक्तित्वहरु, हिमाल आरोहीहरु र अन्य सेलिव्रेटीहरुको भेला आयोजना गरी वहाँहरुलाई भ्रमण वर्षको प्रवर्द्धनका लागि परिचालन गर्ने ।

४. विभिन्न शहरहरुमा हुने पर्यटन, व्यापार, सांस्कृतिक लगायतका मेला तथा एक्स्पोहरुमा नेपालको पर्यटन प्रवर्द्धनको काम गर्ने र नेपालका व्यवसायीको सहभागिता प्रवर्द्धन गर्ने ।

५. प्रत्येक देशका र मुख्य मुख्य शहरमा गैरआवासीय नेपाली र स्थानीय संघ संस्थाका प्रतिनिधिहरु समावेश गरी नेपाल भ्रमण वर्ष, २०२० सहयोग समितिहरु गठन गर्ने र भ्रमण वर्ष सचिवालयमा त्यसको जानकारी दिने ।

६. राजदूतावास एवं महावाणिज्य दूतावासमा भ्रमण वर्षको डेस्क स्थापना गर्ने । गैरआवासीय नेपालीसँगको समन्वयमा उक्त डेस्कहरुमा नियमित रुपमा स्वयंसेवक खटाउने व्यवस्था मिलाउने ।

७. तोकिएको मापदण्डभित्र पर्यटन दूत र नेपाल भ्रमण वर्ष, २०२०का लागि सदभावना दूतहरु नियुक्तिका लागि नाम सिफारिस गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाउने ।

८. गैरआवासीय नेपाली संघ र स्थानीय संघ संस्थालाई समन्वय गरी मानिसहरुको आवत-जावत र घनत्व वढी हुने सार्वजनिक स्थलहरुमा पर्चा वितरण, कार तथा साईकल र्‍याली, प्रचार सामाग्रीहरुको प्रवर्द्धन, वकाथन, पदयात्रा लगायतका कार्यक्रम आयोजना गर्ने । उल्लेखित कार्यक्रमहरु स्थानीय संचार माध्यमबाट प्रचार-प्रसार गराउने साथै कार्यक्रमका फोटो र समाचार भ्रमण वर्षको सचिवालयमा समेत पठाउने ।

९. सन् २०२० को शुरुमा निर्माण कार्य सम्पन्न भई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा सन् २०२० को मार्च देखि अन्तर्राष्ट्रिय उडान गर्ने लक्ष्य रहेको छ । उक्त विमानस्थलमा सम्वन्धित देशबाट हवाई सेवाको लागि विमान कम्पनीलाई उडान गराउन पहल गर्ने ।

१०. सन् २०२० भरीमा नेपालमा गोष्ठी, सेमिनार तथा वैठकहरु आयोजनाहरु गर्न विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थालाई आह्वान गर्ने साथै उच्च स्तरीय भ्रमण लगायत विभिन्न सेलिव्रेटीहरुको भ्रमणका लागि पहल गर्ने ।

११. सन् २०२० भरी माथि उल्लेखित कार्यक्रमहरुका अतिरिक्त नेपाल भ्रमण वर्षको प्रचार-प्रसार र प्रवर्द्धनका लागि विभिन्न सिर्जनात्मक कार्य गर्ने सो का लागि भ्रमण वर्ष सचिवालय र नेपाल सरकारसंग नियमित रुपमा समन्वय गर्ने ।

१२. नेपाल वर्ष २०२० को सचिवालय र गैरआवासीय नेपाली संघ बीच ३ कात्तिक २०७६ मा भएको समझदारी कार्यान्वयनका लागि आवश्यक पहल गर्ने ।

प्रकाशित मिति: : 2019-11-04 06:09:48

प्रतिकृया दिनुहोस्