दमक झापा : दमकस्थित भुटानी शरणार्थी शिविर बेलडाँगीका ७३ वर्षीय बहादुर विकको निधार ४ वर्षदेखि खाली छ। दिदी-बहिनी पुनर्वास भएर अमेरिका पुगेसँगै उनको तिहार पनि हरायो। श्रीमती पनि बिरामी भएर माइती भारतको जयगाउँ पुगेकी छन्। चाडपर्वको बेला एक्लै हुँदा झनै नराम्रो लाग्ने भएकाले आफू पनि तिहारका बेला उतै जाने योजना रहेको उनले सुनाए। भुटानमा मनाएका चाडपर्वको अनुभूति उनले सुनाउनै मन गरेनन्। ‘सुनाएर के गर्नु। जति सम्झियो उति बिरक्त लाग्छ। बरु बिर्सने बल गरो त्यही आनन्द’ शिविरमा एक्लै हिँड्दै गरेका उनले भने,‘आफन्त र रमाइलो गर्ने केही कुरै नभएपछि के दशैं, के तिहार, सबै उस्तै हो। हामी शरणार्थीलाई त चाडबाड नआएकै जाती।’ पीडा उनको मात्रै होइन, जबव चाडपर्व आउँछन्, तब ६३ वर्षीया तुलसीमाया दुलालको मन उदास हुन्छ। बजारभरि रङ्गीबिरङ्गी माला र बत्तीको झिलिमिलीले त तिहारको बेला उनलाई झनै बिरक्त लाग्छ। उनी मात्र होइन, अढाई दशकदेखि झापा र मोरङका शिविरमा रहेका भुटानी शरणार्थीलाई हरेक चाडपर्वले आफन्त र जन्मभूमिको यादले पिरोल्छ।