तिहारमा अमर्यादित क्रियाकलाप नगर्न प्रशासनको आग्रह

तस्बिरः बिएल नेपाली सेवा

जिल्ला प्रशासन कार्यालय, जुम्लाले तिहारमा अनुचित क्रियाकलाप नगर्न निर्देशन दिएकाे छ। लागुपदार्थ र मदिरा नियन्त्रण अभियान प्राथमिकतामा राखेको प्रशासनले अमर्यादित क्रियाकलाप गर्ने जो सुकैलाई कारबाहीको दायरामा ल्याउने जनाएको छ।

बिहीबार जिल्ला प्रशासन कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै तिहारकाे बेला लागुऔषध तथा मदिरा सेवनका कारण हुन सक्ने घटना घट्न नदिन निर्देशन दिएकाे हाे।

तिहार मर्यादित, शान्तिपूर्ण र अपराध रहित रूपमा मनाउन, सर्वसाधारण जनताको जीउज्यान तथा स्वास्थ्यमा प्रतिकुल असर पर्न जाने, चोटक पटक लाग्ने र आगलागी भई जनधनको क्षति हुन सक्ने भएकाले पटका, अति प्रज्वलनशिल तथा विष्फोटक पदार्थको प्रयोग नगर्न विज्ञप्तिमा आग्रह गरिएको छ।

‘तिहारलाई भड्किलो र खर्चिलो बनाउन दिइने छैन्। देउसी भैलो जस्ता मनोरञ्जनात्मक कार्यक्रम अनुशासित, मर्यादित र सभ्य रूपमा मनाउनु पर्ने छ।’ प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले भनिन्, ‘कुनै व्यक्ति तथा संघ संस्थाबाट अनुचित दबावमुलक माग राख्न पाइने छैन्। देउसी भैलो जस्ता मनोरञ्जनात्मक क्रियाकलाप राति १० बजे पछि संचालन गर्न नमिल्ने भनेका छाैं।’

अनुचित फाइदा लिने मनसायले ठगि गर्ने, कालोबजारी गर्ने, गुणस्तरहिन तथा म्याद नाघेका वस्तु बिक्री वितरण गर्नेलाई उच्च निगरानीमा राखिनेछ। कृत्रिम अभाव सिर्जना गर्ने, जुवातास, गुर्जा खेल्ने तथा दबावमुलक माग राखि कानुन विपरितका क्रियाकलाप गरेको देखिएमा प्रचलति कानुन बमोजिम कारवाही हुने समेत प्रशासनले जनाएको छ।

तिहार शान्तिपूर्ण रुपमा मनाउनको लागि जुम्लाबासीलाई सचेत गर्न जिल्ला स्थित प्रहरी चौकी र अस्थायी प्रहरी बिट सबैलाई निर्देशन गरिएको प्रमुख जिल्ला अधिकारी बञ्जाडेले थपिन्।

प्रकाशित मिति: : 2019-10-24 20:53:39

प्रतिकृया दिनुहोस्