महेश नेपाली
                                नरेन्द्र सेजुवाल उर्फ कमरेड ज्वाला जुम्ला चन्दननाथ नगरपालिका -३ का वडा सदस्य हुन्। काँग्रेसले अध्यक्ष जितेको वडामा माओवादीबाट सदस्य जितेको उनी विद्यार्थी राजनीतिमा सक्रिय छन्।
अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य नरेन्द्रले गएको चैतमा भएको स्ववियु निर्वाचनमा कमान्डर भइ निर्वाचन परिचालन गरेका थिए। निडर प्रस्तुति दिने उनको घरको आर्थिक अवस्था भने उति मजबुत छैन। कठिनाइका बीचमा पनि राजनीतिक इच्छाशक्ति भने बलियो छ।
त्यसैले प्राय उनी स्वयंसेवा गरिरहेका भेटिन्छन्। राजनीति समाजसेवा भनेर लागेका उनी अर्काको दु:खमा हातेमालो गर्न सधैँ तयार देखिन्छन्। त्यसैले छिमेकी जिल्ला जाजरकोटमा भूकम्प जाँदा उनी त्यहाँका नागरिकको घाउमा मलम लाउन भनी पुगेका छन्।

कार्तिक १७ गते जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु बनाई गएको भूकम्पमा परी १५७ जनाको मृत्यु भएको थियाे भने ३७५ बढी घाइते भएका थिए। जाजरकोट र रुकुम पश्चिममा गरी साढे २६ हजार बढी घरहरुमा भूकम्पले क्षति गरेको छ।
यस्तो अवस्थामा सरकारी र गैरसरकारी तवरबाट तत्काल पुनर्निर्माण सम्भव नभएको हुँदा अस्थायी टहरा बनाउन जरुरी छ। भूकम्पले क्षतविक्षत गरेको ठाउँका नागरिक आफैँ विछिप्त छन्। उनीहरुलाई हौसला दिँदै स्वयंसेवीहरुले काम गर्नु अपरिहार्य छ। यही ध्येयका साथ नरेन्द्र जाजरकोट पुगेका हुन्।
'पार्टीको निर्देशनपछि भूकम्पलगत्तै म जाजरकोट पुगेको हुँ। त्यसपछि निरन्तर अस्थायी टहरा निर्माणमा जुटेका छौँ,' उनले भने, 'हामीले करिब सय वटा टहरा निर्माण गर्यौँ। हाम्रो काम देखेर भूकम्प पीडितहरुले राहत पाएको महशुस गरिरहेका छन्।'

यतिबेला राजनीतिक पार्टीहरुले आफ्ना कार्यकर्तालाई भूकम्प पीडितको सेवा गर्न पठाइरहेका छन्। उनीहरुको सक्रियताले धेरै नागरिकलाई राहत मिलेको छ। थोरै भएपनि सेवा दिन सकिने उदेश्यले नरेन्द्र त्यहाँ पुगेका हुन्।
सरकारले तीव्र रुपमा सेवा दिने कोसिस गरिरहेको भएपनि पर्याप्त स्राेत साधनको अभाव हुँदा पीडितले मनग्ये राहत पाउन सकिरहेका छैनन्। त्यसैले पीडितलाई सहयोग गर्नुपर्ने अवस्था रहेको उनले बताए।
'भूकम्पबाट संयोगले बाँचेका नागरिकलाई जीवन चलाउन कठिन छ। संचय गरेर राखिएको खाना पुरिएको छ,' उनले भने, 'राहतको नाममा गुणस्तरीय खाद्यान्न नहुँदा स्वास्थ्य समस्याहरु पनि बढिरहेका छन्।'

भूकम्पपछिका पराकम्पले नागरिकलाई घरभित्र बस्ने वातावरण बन्न सकिरहेको छैन। त्यसैले धेरै नागरिक पालमा बसिरहेका छन्। अत्यधिक चिसो सिजन सुरु भइसकेका कारण बालबालिका र वृद्धहरुलाई बाँच्न कठिन भइरहेको छ। त्यसैले जाडाेबाट ज्यान गुमाउनेको संख्या पनि बढ्दैछ।
'खाना-लाउन समस्या छ। स्वास्थ्य समस्या थपिँदैछ,' उनले भने, 'आँखा अगाडि विभत्स दृश्यहरु देखिँदा निकै दु:ख लाग्छ र पनि सम्हालिएर पीडितसँगै काम गर्छाैं। उनीहरुको मनाेबल गिर्न दिँदैनौँ।'
पछिल्लो समय भूकम्प पीडितहरुमा मानसिक समस्याहरू पनि बढ्दै गइरहेको नरेन्द्रको बुझाई छ। 'मनोपरामर्शदाता, चिकित्सक र औषधिको खाँचो पछिसम्म परिरहनेछ,' उनले थपे, 'खानासमेत सरकारले नै उपलब्ध गराउन अति जरुरी देखेका छौँ।'
नरेन्द्रले आफू कहिले फर्किने टुंगो नभएको बताए। जता हेर्दा पनि पीडित र उनीहरुको पीडामात्रै देखिने हुँदा केही दिन अझै स्वयंसेवा गर्ने उनको सोच रहेको छ।

                                    
                                        नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                    
                                        नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया