शनिबार, ०७ नोभेम्बर २०२६

प्रचण्डको टिप्पणीः सरकारको काम हिन्दी जासुसी फिल्मको जस्तो, कतिबेला के गर्छ थाहा छैन

News Image
• • •

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले ३५ वर्षमा केही भएन भन्ने विवेकहीन भाष्य बनाइएको दाबी गरेका छन्।

काठमाडौंमा आयोजित ‘कर्णाली, उपेक्षा र उज्यालो’ नामक पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै उनले भ्रष्टाचारविरुद्ध अभियान चलाउँदा आफूलाई सरकारबाट अपदस्त गरिएको बताए।

उनले भने, ‘जसले गणतन्त्र, सङ्घीयता, समावेशिता ल्याएको हो, त्यसलाई काम गर्ने वातावरण बनाउन सक्न पाएको भए त अहिलेसम्म योभन्दा धेरै गर्न सकिन्थ्यो। दिइएको छैन। तपाईंहरू राम्रोसँग हेर्नुहोला, भ्रष्टाचारका विरुद्ध, सुशासनका पक्षमा अभियान चलाउँदा अपदस्थ गरियो।’

प्रचण्डले बालेन सरकारको काम कारबाही हिन्दी जासुसी फिल्मको जस्तो भएको टिप्पणी गरे। सरकारको कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गर्दै देशमा पत्रकार, कर्मचारी तथा राजनीतिक नेताहरूको अवस्थासमेत अनिश्चित बन्दै गएको टिप्पणी गरे।

उनले भने, ‘भ्रष्टाचारमाथि सुशासनको पक्षमा अभियान चलाइराखेको बेलामा, हामीभन्दा भ्रष्टाचारका विरुद्ध लड्नेभन्दा भ्रष्टाचारी बलिया रहेछन नेपालमा, बिचौलियाहरू बलिया रहेछन नेपालमा,’ प्रचण्डले भने, ‘तपाईंहरूले हिन्दी जासुसी फिल्म हेर्नुभयो होला, विचित्र–विचित्र हुँदै नहुने कामहरू भएको देखाउँछन् नि, त्यस्तै छ सरकारको काम गराइ। कतिबेला कुन पत्रकार समातिने हो, कुनमाथि हमला हुने हो, कता के भन्ने कुराको टुङ्गो छैन।’

गणतन्त्र र सङ्घीयता ल्याउने, पूर्वाधार र ऊर्जा क्षेत्रमा क्रान्ति ल्याउनेहरूले बदमास र अपराधी चित्रण गरिएको भन्दै आपत्ति जनाए। आफू प्रधानमन्त्री हुँदा भ्रष्टाचारका विरुद्ध लड्दा बिचौलियाले हराएकै कारणले देश दुर्घटनामा परेको दाबी गरे।

‘हामीलाई अपदस्थ गरिएपछि देश दुर्घटनामा जान्छ। यो संविधानको मर्म विपरीत पनि छ, लोकतन्त्रको मर्म विपरीत पनि छ। अब जाने भयो दुर्घटनामा भनेर खबरदारी गर्दागर्दै गयो। गर्दागर्दै गईपो हाल्यो। अब अहिले त अनौठो खालको सरकार हामीले भोगेका छौं,’ प्रचण्डले भने।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!