शनिबार, ०६ जुन २०२६

रास्वपा सुनसरी अधिवेशनमा कुटाकुट, मतदानस्थल तनावग्रस्त

News Image
• • •

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम सुनसरी जिल्ला अधिवेशनमा विवाद चर्किँदा केहीबेर तनावपूर्ण अवस्था सिर्जना भएको छ।

लौकही सिटी हलमा जारी अधिवेशनमा मतदानको अधिकारबाट आफ्नो नाम हटाइएको भन्दै केही युवा तथा असन्तुष्ट कार्यकर्ताले बन्दसत्र हलको मुख्य प्रवेशद्वारमा धर्ना दिएका थिए। उनीहरूलाई हटाएर निर्वाचन प्रक्रिया अगाडि बढाइएपछि कार्यकर्ताबीच धकेलाधकेल र विवाद भएको बताइएको छ।

असन्तुष्ट पक्षले आफूहरूलाई बेवास्ता गर्दै नेतृत्व पक्षले जबरजस्ती प्रक्रिया अघि बढाउन खोजेको आरोप लगाएको छ। उनीहरूका अनुसार यही विषयलाई लिएर अधिवेशनस्थलमा तनाव बढेको थियो।

तर जिल्ला प्रहरी कार्यालय सुनसरी का प्रवक्ता चन्द्र खड्काले हातहालाहाल भएको दाबी अस्वीकार गरेका छन्। उनका अनुसार घटनास्थलमा केहीबेर होहल्ला र विवाद भए पनि शारीरिक झडप भएको अवस्था भने नरहेको बताएका छन्।

प्रहरीका अनुसार अहिले स्थिति सामान्य छ र मतदान प्रक्रिया सुचारु रूपमा जारी रहेको छ।

यता झापामा भने दलित उम्मेदवार शून्य देखिएका छन्। सहमतिबाट नेतृत्व चयन गर्न असफल भएपछि रास्वपा झापामा निर्वाचन भएको छ। अध्यक्षमा ३ जनाले दाबी नछोडेपछि निर्वाचन गरिएको हो। अध्यक्षसहित अन्य पदहरूमा समेत मतदान भएको छ।

८ जनाका लागि २७ जनाले उम्मेदवारी प्रस्तुत गरेका थिए। अध्यक्षमा अर्जुन मैनाली, ओमनाथ भण्डारी र लक्ष्मण बस्नेतले उम्मेदवारी दिए। निर्वाचन मार्फत अध्यक्ष चयनका लागि तयार भएका उनीहरुले सहमति जुटाउन सकेनन्।

यस्तै, १ उपसभापतिका लागि ४ जना उम्मेदवार निर्वाचनमा सहभागी भए। १ सचिव पदका लागि २, १ सहसचिवका लागि ३, जातीय आधारमा १ सदस्यका लागि ३ र खुल्ला तथा महिला सदस्य ३ जनाका लागि १२ जनाले उम्मेदवारी दिए।

नेतृत्व चयनका लागि आज दिउँसो बिर्तामोडस्थित चिरायु पार्टी प्यालेशमा निर्वाचन सम्पन्न गरिएको छ। ८१४ जना प्रतिनिधि रहेको प्रथम अधिवेशनमा गणनाको लागि तयारी भइरहेको बताइएको छ। आजै मतणना सुरु गर्ने योजना अनुरुप आवश्यक प्रक्रिया अघि बढाइएको जनाइएको छ।

८ पदका लागि २७ जनाले उम्मेदवारी दिएको मतपत्रमा १ जना दलित समुदायको उम्मेवार नरहेको पाइएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!