शुक्रबार, २० फेब्रुअरी २०२६

जन–जनमा सुनिल, मन–मनमा सुनिल (फोटो फिचर)

News Image
• • •

प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्माले आफ्नो निर्वाचन क्षेत्र केन्द्रित घरदैलो अभियानलाई तीव्रता दिएका छन्। मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उनी यतिबेला मोरङ–३ का गाउँ–टोलमा निरन्तर सक्रिय देखिएका छन्।

मोरङ निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत पर्ने बेलबारी नगरपालिका वडा नं. १० र ११ का विभिन्न बस्ती, टोल तथा चोकहरूमा पुगेर उनले स्थानीयसँग संवाद गर्दै विकास, सुशासन र जनअपेक्षाका विषयमा छलफल गरेका छन्। घरदैलोका क्रममा स्थानीयवासीले फूलमाला, खादा तथा शुभकामना दिँदै उत्साहजनक स्वागत गरेका थिए।

घरघरमा पुगेर मतदाताको हात समाउँदै उनले स्थानीय समस्या प्रत्यक्ष सुन्ने र समाधानका लागि प्रतिबद्ध रहने विश्वास दिलाएका छन्। सडक पूर्वाधार, स्वास्थ्य सेवा, शिक्षा, रोजगारी तथा कृषिसम्बन्धी विषयमा नागरिकले उठाएका जिज्ञासा र सुझावलाई उनले ध्यानपूर्वक सुनेका थिए।

अभियानका क्रममा उम्मेदवार शर्माले मतदाताबाट प्राप्त आत्मीयता नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको बताए। उनले भने, ‘मेरा भाग्य विधाता मतदाताहरूको आशीर्वाद, माया, हौसला र स्वतःस्फूर्त सहयोगले मेरो मनोबल अझ उच्च भएको छ। यहाँहरूको विश्वास र अपनत्वले मलाई अझ जिम्मेवार बनाएको छ।’

उनका अनुसार राजनीति केवल निर्वाचन जित्ने माध्यम नभई जनताको जीवनस्तर सुधार्ने जिम्मेवारीपूर्ण अभियान हो। ‘हाम्रो सम्बन्ध चुनावको मात्रै होइन, साझा भविष्य निर्माणको हो। जनताको भरोसा कायम राख्दै दीर्घकालीन विकासका योजनालाई अघि बढाउनु नै मेरो प्राथमिकता हो,’ उनले बताए।

घरदैलो कार्यक्रममा नेपाली कांग्रेस का स्थानीय नेता, कार्यकर्ता, युवाहरू तथा महिला समूहको उल्लेख्य सहभागिता देखिएको थियो। चुनावी अभियानलाई जनस्तरसम्म पुर्‍याउने उद्देश्यले टोल–टोलमा साना अन्तरक्रिया, भेटघाट तथा छलफल कार्यक्रमसमेत सञ्चालन गरिएको टोलीले जनाएको छ।

स्थानीयवासीका अनुसार उम्मेदवार प्रत्यक्ष रूपमा घरदैलोमा पुग्दा आफ्ना समस्या राख्ने अवसर मिलेको छ। धेरैले विकास निर्माणका अधुरा योजना पूरा गर्ने, रोजगारी सिर्जना गर्ने र युवालाई स्वदेशमै अवसर उपलब्ध गराउने अपेक्षा व्यक्त गरेका छन्।

अभियानका क्रममा शर्माले विगतमा भएका विकास प्रयासलाई निरन्तरता दिँदै स्वास्थ्य, शिक्षा र पूर्वाधार क्षेत्रमा थप सुधार ल्याउने प्रतिबद्धता दोहोर्‍याएका छन्। उनले जनताको सुझावकै आधारमा आगामी कार्ययोजना निर्माण गर्ने समेत बताएका छन्।

निर्वाचन मिति नजिकिँदै जाँदा मोरङ–३ मा चुनावी माहोल दिनप्रतिदिन तातिँदै गएको छ। घरदैलो अभियानमार्फत मतदातासँग प्रत्यक्ष सम्बन्ध विस्तार गर्दै अघि बढिरहेका शर्मा समर्थकहरूबीच उत्साह थपिएको देखिन्छ।

स्थानीयको बाक्लो सहभागिता र सकारात्मक प्रतिक्रिया देखिँदा यसपटकको चुनावी प्रतिस्पर्धा थप रोचक बन्ने राजनीतिक विश्लेषकहरूको भनाइ छ। 

घरदैलो अभियानलाई निरन्तरता दिँदै उम्मेदवार शर्मा आगामी दिनमा क्षेत्रका अन्य वडाहरूमा पनि मतदाता भेटघाट कार्यक्रम सञ्चालन गर्ने तयारीमा रहेको जनाइएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!