बिहिबार, १९ फेब्रुअरी २०२६

कांग्रेस संकटको घडीमा देश सम्हाल्ने ‘परिपक्क माझी’– उपसभापति शर्मा

News Image
• • •

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपालमा सिर्जना भएका हरेक विषम परिस्थितिमा देशलाई सम्हाल्ने क्षमतावान् एक मात्र दल नेपाली काँग्रेस भएको बताएका छन्।

मोरङ–१ मा कांग्रेस उम्मेदवार खड्ग फागोको मोरङको केराबारी गाउँपालिकामा आयोजित चुनाबी सभालाई सम्बोधन गर्दै कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका उपसभापति शर्माले अहिलेको राष्ट्रिय सङ्कट घडीमा सिकारुलाई देश जिम्मा लगाउने होइन, परिपक्क शक्तिलाई जिम्मा दिनुपर्ने बताए।

निर्वाचनको मैदानमा आँधीहुरी चलेको बेला पनि देशको बागडोर सम्हाल्न सक्ने दल कांग्रेस मात्रै भएको बताउँदै उनले जनतालाई सचेत रहन आग्रह गरे।

उपसभापति  शर्माले बदलिन सक्ने शक्ति भएकाले मात्र देश बदल्न सक्ने दाबी गरे। उनले वर्तमान विषम परिस्थितिबाट देशलाई निकास दिने क्षमता नेपाली कांग्रेससँग मात्र रहेको बताए।

‘जो बदलिन सक्छ उसले बदल्न सक्छ,’ शर्माले भने, ‘कांग्रेसले धेरै जित र हार दुवै भोगेको छ, तर इतिहासका कठिन मोडमा देशलाई सम्हाल्ने जिम्मेवारी पनि काँधमा बोकेको छ।’

उनले भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ७४–७५ जना जेनजी युवाले ज्यान गुमाएको दुःखद प्रसंग स्मरण गर्दै त्यो पीडालाई गम्भीर रूपमा आत्मसात् गर्नुपर्ने बताए।

शर्माले भने, ‘आमाको काख रित्तियो, संरचनाहरू जले, समाज भावनात्मक रूपमा विखण्डित भयो। यस्तो अवस्थामा देशलाई शान्ति, समन्वय र संविधानको मार्गमा कसले लैजान सक्छ भन्ने प्रश्न महत्त्वपूर्ण हुन्छ।’

शर्माले चुनाव दलगत जित–हारको विषय मात्र नभई सङ्कटमा देशलाई संयमताका साथ समन्वय गर्न सक्ने परिपक्व शक्तिको परीक्षण भएको बताए। ‘मूल प्रश्न कुन दलले जित्ने भन्ने होइन, मूल प्रश्न विषम परिस्थितिमा देशलाई कसले गाँस्न सक्छ भन्ने हो,’ उनले स्पष्ट पारे।

शर्माले २००७ सालको प्रजातान्त्रिक आन्दोलनदेखि २०७० सालको संविधानसभा निर्वाचनसम्मका ऐतिहासिक सन्दर्भ प्रस्तुत गर्दै कांग्रेसले भिन्न शक्ति, दल र समुदायबिच समन्वय गरेर देशलाई निकास दिएको दाबी गरे। 

०६४ मा कांग्रेस दोस्रो दल बन्दा संविधान निर्माण प्रक्रिया अन्योलमा परेको र ०७० मा पहिलो दल बनेपछि दुई वर्षमै संविधान जारी भएको तथ्य जनताले स्मरण गर्नुपर्ने उनको भनाइ थियो।

पार्टीभित्रको पुस्तान्तरण, आन्तरिक सुधार र नेतृत्व नवीकरणबारे चर्चा गर्दै उनले कांग्रेस बदलिसकेको दाबी गरे । ‘अब कांग्रेस एउटै व्यक्तिको अवसरको पार्टी हुँदैन। दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने व्यवस्था, सक्ने कुरा मात्र बोल्ने र गर्ने प्रतिबद्धता हाम्रो आत्मसुधारको सङ्केत हो,’ उनले भने।

नेपाली कांग्रेस इतिहासदेखि नै सङ्कटको घडीमा देशलाई सम्हाल्दै आएको दल भएकोले यस पटकको निर्वाचन पनि राष्ट्रको भविष्यसँग जोडिएको निर्णायक मोड हुने उनले बताए।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादीको १० बर्षे जनयुद्धको द्वन्द्व अन्त्य गर्न र माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन कांग्रेसले निर्णायक भूमिका खेलेको उपसभापति शर्माले स्मरण गराए।

उनले भने ‘कांग्रेसको ‘बन्दुकले बन्दुकको समाधान हुँदैन’ भन्ने सिद्धान्तबाट गिरिजाप्रसाद कोइरालाले माओवादीलाई मूलधारको राजनीतिमा ल्याएर देशलाई ठुलो रक्तपातबाट जोगाएको कसैले बिर्सेका छैन।’

संविधान निर्माणको संवेदनशील घडीमा सबै पक्षलाई समेटेर अघि बढ्ने काम कांग्रेसले गरेको उनले स्मरण गराए।

कांग्रेसलाई परिपक्क माझी भएको दाबी गर्दै,देशमा सङ्कट वा ‘आँधी हुरी’ आएको बेला अनुभवी नेतृत्वले मात्र देश सम्हाल्न सक्ने उनको भनाइ थियो। यस बेला देशमा उठेको नयाँ पुस्ताको आक्रोश र मागलाई सम्बोधन गर्ने शक्ति पनि कांग्रेस नै भएको उनले बताए।

फागुन २१ गतेको निर्वाचनका लागि कांग्रेसले नयाँ र युवा उम्मेदवार, महिला र दलित प्रतिनिधित्व उल्लेख्य रूपमा बढाएको जानकारी दिँदै १६५ क्षेत्रमध्ये १०६ जना नयाँ अनुहार उम्मेदवार बनाएको उनले स्पष्ट गरे।

मोरङ-१  का उम्मेदवार फागो एक योग्य र इमानदार उम्मेदवार भएको बताउँदै उपसभापति  शर्माले भुलेर पनि गल्ती गर्दै नगरी कांग्रेसको रुख चिन्हमा भोट लगाएर अनुभवी उम्मेदवारलाई जिताउन आग्रह गरे। 

उनले खड्ग फागो राम्रा देशमा जाने अवसर हुँदाहुँदै पनि आफ्नै माटोमा बसेर सेवा गर्न चाहने व्यक्तिको रूपमा उनले चित्रण गरे। विदेशमा रहेका युवाहरूलाई आफ्नो क्षेत्रको विकासका लागि फागोलाई जिताउन पहल गर्न उनले अपिल गरे।

बदलिएको कांग्रेसले ‘अब देश बदल्छ ढुक्क हुनुस्’ भन्दै शर्माले यस क्षेत्रबाट दिइने मतले गगनकुमार थापालाई देशको प्रधानमन्त्री बनाउने बाटो खोल्ने बताए।

गगन थापा अनुभव, उत्साह र स्पष्ट भिजन भएको नेताको भएको बताउँदै उपसभापति शर्माले थापाले प्रस्तुत गरेको राजनीतिक स्थिरता र ५ वर्षको अवधारणा नेपालको ७५ वर्षको इतिहासमा कुनै पनि प्रधानमन्त्रीले पुरा गर्न नसकेको बताए। उनले भने ‘कुनै पनि प्रधानमन्त्रीले लगातार ५ वर्ष शासन गर्न सकेनन्।’

३४ वर्षमा ३० जना प्रधानमन्त्री फेरिएको राजनीतिक अस्थिरता नै देशको मुख्य समस्या भएकाले पूर्ण ५ वर्ष सरकार चलाउन दिने र अन्य दलहरू प्रतिपक्षमा बस्ने संस्कारको विकास गर्नुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा नेपाली काङ्ग्रेस मोरङ–१ का उम्मेदवार खड्ग फागोले   मोरङ–१ को समस्या नै आफ्नो चुनावी एजेण्डा रहेको र यहाँ पहाडी भेगमा पर्यटन प्रवर्द्धन गर्ने आफ्नो लक्ष्य रहेको उल्लेख गरे ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!