पाकिस्तानमा डलरको अवस्था नेपालभन्दा खराब, १ सय ४८ रुपैयाँ नाघ्यो

Agency

पाकिस्तानमा दक्षिण एसियाकै सबैभन्दा ठूलो डलरको अवमूल्यन देखिएको छ। शनिवार डलरको मूल्य १ सय ४८ नाघेपछि पाकिस्तानी राजनीतिमा हलचल मच्चिएको छ। 

यसै वर्ष पाकिस्तानको प्रधानमन्त्रीमा नियुक्त पूर्व क्रिकेटर इमरान खानले आफ्नो व्यवस्थामा डलरको मूल्य घटेर ९० नजिकै पुग्ने घोषणा गरेका थिए।

तर, उनको कार्यकालमा डलरको मूल्य १७ वर्षकै सबैभन्दा खराब स्थितिमा पुगेको छ। उनी प्रधानमन्त्री नियुक्त हुँदा डलरको मूलय १ सय २२ पाकिस्तानी रुपैयाँसम्म थियो।

यो एक वर्षमा पाकिस्तानी मुद्रा २० प्रतिशतले अवमूल्यन भएको हो। पाकिस्तानमा डलरको स्थिति नेपाल भन्दा कमजोर बन्न पुगेको छ। केही वर्षअघि सम्म दक्षिण एसियामा डलरको सबैभन्दा खराब स्थिति नेपालको थियो।

तर, अहिले पाकिस्तानको अवस्था नेपालभन्दा खराब बन्न पुगेको छ। हाल नेपालमा डलरको मूल्य स्थिर छ र एक डलर बराबर १ सय १२ रुपैयाँ छ। तर, यसै साता डलरको स्थिति १ सय ४४ पुगेको पाकिस्तानमा दुई दिन भित्र पुनः मुद्रा अवमूल्यन भएको हो।

अहिले अफगानिस्तानमा डलरको मूल्य ७९, भारतमा ७० र बंगलादेशमा ८४ छ।

इन्टर बैक मार्केटमा डलरको मूल्य १ सय ४८.२० भएपनि खुला बजारमा १ सय ५१ रुपैयाँमा डलर खरिद–विक्री भइरहेको पाकिस्तानी समाचार संस्थाहरूले जानकारी दिएका छन्।

पाकिस्तानबाट प्रकासित हुने डन पत्रिकाका अनुसार दुई दिनभित्र पाँच प्रतिशतले पाकिस्तानी रुपैयाँ अवमूल्यन भएको हो। पत्रिकाले भनेको छ, ‘प्रधानमन्त्री इमरान खानले आफ्नो वित्तिय सल्लाहकार डा. हाफिज शेखलाई शेयर मार्केट व्यापारीसँग वार्ता गर्न कराची पठाएका थिए।’

वार्तामा वित्तिय संकटबाट बाहिरिन ‘मार्केट सपोर्ट फन्ड’ स्थापना गर्नुपर्ने व्यापारीहरूले सुझाव दिएका थिए। स्थानीय अखबारका अनुसार व्यापारीहरू सँगको भेटपछि हाफिजले राष्ट्रिय लगानी कोषलाई २० अर्बसम्म सहायता दिने आश्वासन दिएका छन्।

स्टेट बैकले सोमबार मौद्रिक नीति घोषणा गर्दैछ।

विपक्षीहरूले प्रधानमन्त्री खानको अदूरदर्शी नीतिका कारण पाकिस्तानी सर्वसाधारणले दुःख पाएको भन्दै विरोध गरेका छन्।

प्रधानमन्त्री खानले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) सँग बेलआउट लिने विषयमा जबदेखि सम्झौता वार्ता सुरु गरे, डलरको तुलनामा पाकिस्तानी रुपैयाँ कमजोर बन्दै गएको विपक्षीको दावी छ। पाकिस्तान आइएमएफसँग ६ अर्ब डलरको प्याकेज सहमति नजिक छ।

प्रकाशित मिति: : 2019-05-18 21:42:40

प्रतिकृया दिनुहोस्