भारतीय प्रधानमन्त्री मोदी निर्वाचनको निर्णय अगाडि तपस्यामा

Hindustan Times

लोकसभा निर्वाचनको डेढ महिना लामो आक्रामक प्रचार–प्रसार पछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी केदारनाथस्थित पवित्र गुफामा तपस्या गर्न पुगेका छन्।

भारतमा सातौं तथा अन्तिम चरणको निर्वाचन हुन बाँकी छ। तर, निर्वाचनको प्रचार–प्रसार भने समाप्त भइसकेको छ। शनिवार उत्तराखण्डस्थित बाबा केदारनाथको दर्शन गर्न जानुअघि उनले भारतीय जनता पार्टी (भाजपा) एक्लैले यसपालिको निर्वाचनमा ३ सयभन्दा बढी सिट जित्ने दावी गरेका थिए।

राजनीतिमा प्रवेश गर्नुअघि मोदीले ३३ वर्षअगाडि यही गुफामा तपस्या गरेको बताइएको छ। उनी बिहान साढे ९ बजे सेनाको हेलिकोप्टरबाट केदारनाथमा बनेको भिभिआइपी हेलिप्याडमा उत्रिएका थिए।

प्रधानमन्त्री भएपछि उनी चौथो पल्ट केदारनाथ दर्शनका लागि पुगेका हुन्। गढवाली पोसाक र भगुवावस्त्रमा मन्दिर पुगेका मोदीले १७ मिनेट भगवान केदारनाथको पुजा गरेको भारतीय अखबारले बताएका छन्।

मोदी साढे २ बजे ध्यान गर्न गुफामा पुगेका थिए। ‘प्रधानमन्त्री मोदी २० घण्टा यहाँ ध्यानमा रहने छन्,’ भारतीय अखबारहरूले भनेका छन्।

भारतमा सात चरणको निर्वाचन अन्तर्गत ६ चरणको निर्वाचन समाप्त भइसकेको छ। निर्वाचनको नतिजा २३ मेमा सार्वजनिक हुँदैछ। यसपालि सत्तारुढ दल भाजापाविरूद्ध भारतीय कांग्रेसलगायत अन्य दलको गठबन्धन मैदानमा छ।

प्रकाशित मिति: : 2019-05-18 17:41:38

प्रतिकृया दिनुहोस्