अमेरिका भ्रमणमा रहेका पूर्व प्रधानमन्त्री एवं नेकपा नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पक्राउ गर्नुपर्नेलगायतका कुरा उठाएर सामाजिक सञ्जाल तताएकोमा अमेरिकी सरकारले आपत्ती जनाएको छ।
काठमाडौंस्थित अमेरिकी दूतावासका एक अधिकारीले यस्ता हल्लाका पछि लागेर नेपाल-अमेरिकाबीचको सम्बव्ध बिगार्ने काममा नलाग्नसमे दूतावासले सबैमा आग्रह गरेको छ।
अमेरिकाको व्यक्तिगत भ्रमणमा रहेका नेकपा अध्यक्ष प्रचण्डलाई पक्राउ गर्न लागिएको कुरा हल्ला मात्र भएको काठमाडौंस्थित अमेरिकी दूतावासले स्पष्ट पारेको छ। ‘सामाजिक सञ्जाल र केही मिडियामा यस्तो खबर सार्वजनिक भएकोमा दूतावासको ध्यानाकर्षण भएको छ। तर, यो सबै हल्ला मात्र भएको हो,' ती अधिकारीले भने, ‘पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्ड अमेरिकी अधिकारीको सम्पर्कमा छन्। कुनै उजुरबाजुरबारे सरकारले नोटिस गर्दैन।’
दूतावासबाटै भिसा प्रक्रिया गरिएको र नियमित तालिका अनुसार काम सकिएपछि उनी स्वदेश फर्कने ती अधिकारीले बताए। ‘त्यो सबै प्रत्याभूत भएपछि उहाँ अमेरिका भ्रमणमा जानु भएको हो। यस्ता हल्लाहरूको पछि नलाग्न र यस्ता खराब मनसायले चलाएका हल्लाले नेपाल र अमेरिकाबीचको सम्बन्धमा असर पर्नसक्छ। त्यसैले त्यस्तो हल्ला नचलाउन पनि उनले अनुरोध गरिन्छ।’
यसअघि वासिङ्टनस्थित अमेरिकाका लागि नेपाली दूतावासका एक अधिकारीले प्रचण्डका लागि नो इन्भेष्टिगेसन अर्डर जारी भइसकेको बताउँदै उनको भ्रमण सुरक्षित रहेको जानकारी दिएका थिए।
यसैबीच श्रीमती सीताको स्वास्थ्योपचारका लागि अमेरिका भ्रमणमा रहेका प्रचण्डको बाल्टिमोरस्थित जन हप्किन्स अगाडि खिचिएको पारिवारिक तस्वीरसमेत सार्वजनिक भएको छ।