संसारका विभिन्न मुलुकमा कतिपय प्रणाली त्यहाँको इतिहासका निरन्तरता हुन्छन्। तिनमा त्यहाँको समाजको प्रभाव हुन्छ। कति पश्चिमा सामाजिक सम्झौतामा विश्वास गर्छन् र जनताले सबथोक राज्यलाई सुम्पेर सरकारलाई आफूमाथि शासन गर्ने अधिकार दिएको मान्छन्। उनीहरूमध्ये कति क्रिस्चियन डिस्कभरीमा विश्वास गर्छन् र जग्गा–जमिन र सिंगो महाद्वीपसम्म आफूले पत्ता लगाएको र आफ्नो भएको भ्रम फैलाउँथे। सायद मनमा त्यो धङधङी पाल्ने अझै हुन सक्छन्। युरोपमा बसी पादरीले जारी कागज देखाएर दक्षिण अमेरिकामा जमिन हडपेका उदाहरण पनि सार्वजनिक छन्। जमिनमाथि आँखा लगाउने चलन नौलो र हाम्रो मात्र होइन।
नेपालमा केही वर्षयता यहाँ कार्यरत विदेशी संस्था नेपालका धर्म, पद्धति, सभ्यता, संस्कृति र आफ्नो साथ नदिनेको व्यक्तित्व समाप्त गर्न निरन्तर लागेका छन्। यसका लागि क्षेत्रीय, जातीय र पारिवारिक स्तरसम्म फुट पैदा गराइँदै छ। नेपालका कानुन नीति, पाठ्यक्रम र पाठ्यपुस्तकमाथि प्रभाव पार्ने क्रम जारी छ। उनीहरू वाद, सिद्धान्त, परिवर्तन, रूपान्तरण र दयाको आड लिएर वादमाथि विश्वास हावी गराउँदै छन्। यस्तो पृष्ठभूमिमा कानुन, नीति र पाठ्यक्रम मसौदा गर्ने, स्वीकृत वा पारित गर्नेमध्ये दाताजीवीहरू तोकिएको परिणाम प्राप्तिको दबाबमा रहने र राष्ट्रसापेक्ष काम गर्न खोज्नेहरू दबाब रोक्ने तनावमा रहनुपर्ने अवस्था छ।
गुठी नेपालको आध्यात्मिक, सांस्कृतिक, संस्कारजन्य र लौकिक उन्नयन तथा विकासमा जनसहभागिता र स्थानीय स्वायत्तताको निम्ति अगाडि आएको हो। नेपालमा बाटोमा पानी राख्ने, वास बस्न पाटीपौवा बनाउने, वन जोगाउने, स्वास्थ्य, शिक्षा, संगीत, वातावरण रक्षा, सरसफाइ, चाडपर्व मनाउनेदेखि जात्रा चलाउनेसम्मका काममा गुठी संलग्न भएको पाइन्छ।
व्यक्ति एक्लैले गर्न सम्भव वा पर्याप्त नहुने काम गुठीमार्फत सामूहिकतामा वा संगठित भई गर्न गुठीले सिकाएको देखिन्छ।
गुठी उदात्त मन र दान तथा अर्पणजस्तो पवित्र भावको उपज थियो। यो अधिकार खोज्न, नाफा कमाउन आर्थिक लाभ लिनदिन भनेर सुरु गरिएको देखिँदैन। सम्पत्ति आर्जन नभई सम्पदा विकास र संरक्षण तथा अधिकार खोज्नेभन्दा कर्तव्य निर्वहन यसको निहितार्थ रहेको पाइन्छ।
यो आलेखमा लिच्छविकालीन गुठी व्यवस्था सम्बन्धमा सीमित रही चर्चा गरिनेछ।