अफगानिस्तानमा अफगान सुरक्षाबल (एएनडीएसएफ) ले उत्तरी प्रान्त बाघलानको घोरी जिल्ला पुनः नियन्त्रण्मा लिएको अफगान रक्षा मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।
बाघलान प्रान्तको घोरी जिल्लामा जारी राखेको सैन्य कारबाहीको क्रममा सो जिल्ला मुक्त भएको बताइएको छ । तीन वर्ष अगाडि उक्त जिल्ला तालिबान लडाकू समूहले कब्जामा लिएको जारी विज्ञप्तिमा जनाइएको छ ।
यस कारबाहीको क्रममा तालिबान लडाकूहरु हताहत भएका तर यसको विस्तृत विवरण भने प्राप्त नभएको जनाइएको छ । बाघलान प्रान्तमा तालिबान लडाकूलक्षित कारबाही जारी नै रहने सैनिक स्रोतले जानकारी दिएको छ । बाघलान प्रान्तको पश्चिमी भागको जिल्लाहरुमा पनि तालिबान लडाकूविरुद्ध कारबाही जारी रहेको जनाइएको छ ।
राजधानी काबुल शहर करिब १ सय ६० किलोमिटर उत्तरमा रहेको यो प्रान्तमा लामो समयदेखि तालिबान लडाकू र सुरक्षाबलबीच झडप जारी रहेको छ । सुरक्षा अधिकारीहरुले नियन्त्रणमा लिएपछि यस जिल्लाका कानूनी शासन फिर्ता हुनको साथै सरकारी कार्यालयहरू र स्थानीय प्रहरी चौकी पुनः खोलेको विज्ञप्तिमा बताइएको छ ।
अफगान सुरक्षाबलले बाघलान प्रान्तमा तालिबानी लडाकूविरूद्धको सुरक्षा अभियानलाई तीव्र बनाएको छ । सो जिल्लामा सक्रिय रहेका तालिबानी लडाकू समूहले भने यस विषयमा कुनै टिप्पणी गरेका छैनन् ।