भारत र पाकिस्तानबीचको विवादका कारण केही दिन अवरुद्ध भएको दुई देश बीचको रेल सेवा सोमबारदेखि फेरि सुरु भएको छ । दुई देशबीचको महत्वपूर्ण सेवाको रूपमा रहेको सम्झौता एक्सप्रेसको सेवा सुरु भएको अधिकारीहरूले जानकारी दिएका हुन्।
पछिल्लो दुई देशीय तनावपछि पाकिस्तानको लाहोरदेखि भारतको नयाँ दिल्लीसम्मको रेल सेवा अवरुद्ध भएको थियो ।
‘सम्झौता एक्सप्रेसको रेल स्थानीय समय अनुसार सोमबार विहान ११.३० बजे अत्तारी रेल स्टेशन पुगेको थियो,’ एक जना भारतीय अधिकारीले बताए ।
पाकिस्तानी सञ्चार माध्यमहरुले पाकिस्तानको लाहोरबाट भारततर्फ प्रस्थान गरेको सो रेलमा १५० जना यात्रु रहेको सोमबार जनाएका छन्।
भारत प्रशाशित काश्मिरको पुलवामामा फेब्रुवरी १४ मा भएको आतंकवादी हमलामा ४० जना भारतीय सुरक्षाकर्मी मारिएपछि दुई देशबीच तनाव बढेसँगै रेल सेवा अवरुद्ध भएको थियो ।
सामान्यतया सोमबार र बिहिबार दुई देशबीचमा रेल सेवा सञ्चालन हुँदै आएको थियो । पाकिस्तानको विदेश मन्त्रालयले गत फेब्रुअरी २८ मा दुई देशीय रेल सेवा सञ्चालन नगर्ने घोषणा गरेको थियो ।
तर, भारतको राजधानी नयाँदिल्लीदेखि पाकिस्तानको पन्जाब प्रदेशको राजधानी लाहोरसम्मको अन्तरदेशीय बस सेवा भने रोकिएको थिएन।