रवि कारागारमा, हर्क सिंहदरबारमा (भिडियाे समाचार)

प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अवस्था संक्रमणकालीन र जटिल बन्न थालेपछि दुई ठूला दल एक ठाउँमा उभिनपरेको बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रका समस्या समाधान गर्न कांग्रेस र एमाले एक हुनु परेकाे बताएका हुन्। 

कांग्रेस–एमाले बाहेकका दल प्रतिस्पर्धामा नभएको भन्दै दुई ठूला दल एक हुनु नै राष्ट्रिय एकतातर्फको सबैभन्दा ठूलो स्टेप भएको उनकाे भनाइ थियाे।
 
000

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई कारागार चलान गरिएको छ। 

रुपन्देही प्रहरीले जिल्ला अदालतमा पेश गरेर सोमबार बिहान जिल्ला कारागार चलान गरेको हो। 

बुटवलको सुप्रिम सहकारी ठगी आरोपमा जिल्ला अदालतको धरौटीमा छोड्ने निर्णय उल्ट्याउँदै शुक्रबार उच्च अदलतको बुटवल इजलासले उनलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। 

उनले कारागार जाँदाजाँदै आफूमाथि राजनीतिक प्रतिशोध भएको भन्दै पालो सबैको आउने बताएका थिए।

यो पनि-

000

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार मेयर साम्पाङसहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेको हो।

भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले धरानबासीलाई खानेपानी उपललब्ध गराउने प्रक्रिया अघि बढेको बताएका छन्। उनले धरानवासीलाई खानेपानी पुर्‍याउने प्रक्रिया सुरु भइसकेको भन्दै हर्कमार्फत धरानवासीलाई सन्देश पठाएका छन्।

खानेपानी आयोजनाका लागि विस्तृत परियोजना प्रतिवेदन यसअघि सङ्घीय सरकारले तयार गरिसकेको छ।

यसैगरी, प्रधानमन्त्री ओलीले धरानको फोहोर व्यवस्थापनका लागि परम्परागत नभई आधुनिक प्रविधियुक्त ल्याण्डफिल्डसाइट बनाउनुपर्नेमा जोड दिए।

000

नयाँ विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै शिक्षकहरूले प्रदर्शन जारी राखेका छन्।

शैक्षिक हडताल घोषणा गरेर काठमाडौं केन्द्रीत प्रदर्शन गरिरहेका शिक्षकहरूले सोमबार बबरमहल-माइतीघर क्षेत्रमा मुखमा कालो मास्क लगाएर मौन प्रदर्शन गरेका हुन्।

नेपाल शिक्षक महासंघले यसअघि आफूहरूसँग भएको सहमतिका आधारमा छिटोभन्दा छिटो विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने जनाएको छ।

000

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छिमेकी राष्ट्र भारत नेपालमा राजतन्त्र फर्काउने पक्षमा नरहेको बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बाेल्दै उनले नेपालमा राजतन्त्र ल्याउने पक्षमा भारत नभएकाे बताएका हुन्। 

 नेपालमा राजसंस्था पुनर्स्थापनाको लागि भारतले उचाल्यो भन्ने हल्ला झुटो भएकाे देउवाकाे जिकिर थियाे। 

 000

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मापदण्ड विपरीतका सवारीसाधन सञ्चालनमा रोक लगाउने तयारी भइरहेको बताएका छन्।

सोमबार मन्त्रालयमा यातायात व्यवसायी तथा मजदुरहरूसँगको छलफलमा उनले नियम विपरीत सञ्चालनमा रहेका सवारीसाधन सञ्चालनमा रोक लगाउन सडक तथा यातायात विभागले मात्र सम्भव नहुने भएकाले गृह मन्त्रालयसँग समेत समन्वय गरिने बताएका हुन्।

सडक निर्माण स्थलमा सवारीसाधन अवरोध हुन नदिन वैकल्पिक रुट तथा डाइभर्सन व्यवस्थापनलाई समेत प्राथमिकता दिइने उनले बताएका थिए।

000

नेपाल राष्ट्र बैंकको कायमुकायम गभर्नरको जिम्मेवारी डेपुटी गभर्नर नीलम ढुंगानाले पाएकी छिन्।

चार वर्षदेखि नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर रहेकी ढुंगानालाई उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कामु गभर्नरको जिम्मेवारी तोकेका हुन्।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उनलाई कामुको जिम्मेवारी दिइएको अर्थ मन्त्रालयले जनाएको छ। 

चार वर्षदेखि नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरका रुपमा कार्यरत छिन् ।

000

काठमाडौँ महानगरपालिकाका कर्मचारीहरूले रोकिएको तलब पाएका छन्। 

महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं काममा फर्किएपछि सोमबार कर्मचारीहरूले तलब पाएका हुन्। 

महानगरमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा महानगरमा कार्यरत कर्मचारी र जनप्रतिनिधिहरूको तीन महिनादेखि तलब सुविधा रोकिएको थियो।

000

वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । 

उनकाे आइतबार राति सन्तानब्बे वर्षकाे उमेरमा वर्षको निधन भएको हो । 

मुटु र फोक्सोसम्बन्धी रोगको उपचार गराइरहेका पत्रकार रिसालको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको हाे। 

पत्रकार रिसालले यसअघि नै मृत्युपश्चात् आफ्नो शरीर अध्ययनका लागि पाटन अस्पताललाई दिने घोषणा गरेका थिए ।

000

हङकङ-चाइनाको आयोजनामा हुने चार देशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ।

सोमबार नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशनकुमार सिंह, प्रवक्ता छुम्बी लामालगायतले टोलीको बिदाइ गरेका हुन्। 

नेपालले हङकङमा हुने चार देशीय टी-२० क्रिकेट प्रतियोगिताका लागि शनिबार रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको थियो। 

प्रकाशित मिति: : 2025-04-07 20:10:00

प्रतिकृया दिनुहोस्