नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गणतन्त्रको सहमति तीन जनाले गरेको बताएका छन्।
आइतबार काठमाडाैंमा आयाेजित एक कार्यक्रममा बाेल्दै उनले उक्त सहमति सुरूमा आफू, गिरिजाप्रसाद र तत्कालीन राजा ज्ञानेन्द्रले गरेको बताएका हुन्।
उनले गणतन्त्र ल्याउने सहमति गरेपछि मात्रै माओवादी 'जनयुद्ध' छाडेर आएको बताएका थिए।
000
शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै सिठी जुलुस निकालेका छन्।
केही दिनयता काठमाडौं केन्द्रित प्रदर्शन गरिरहेका शिक्षकहरूले आइतबार काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म सिठी बजाएर सरकारको ध्यानाकर्षण गराएका हुन्।
गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक-कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासंघको नेतृत्वमा देशभरका शिक्षकहरू २०८१ माघ २० गतेदेखि निरन्तर आन्दोलनमा छन्।
000
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निकालिएका महामन्त्री मुकुल ढकालले सभापति रवि लामिछानेलाई प्रधानमन्त्री बन्न कांग्रेसको अफर आएको स्वीकार गरेका छन्।
उनले कांग्रेसबाट एक वर्षको लागि प्रधानमन्त्रीको अफर आएपछि लामिछाने हतारिएर कांग्रेसको जालमा फस्न लागेपछि आफैंले रोकेको दाबी गरेका हुन्।
आइतबार सामाजिक सञ्जालमार्फत उनले रवि प्रधानमन्त्रीका लागि हतारिएपछि आफूले संविधानको प्रावधान देखाएर त्यसलाई रोक्नुपरेको खुलासा गरेका छन्।
000
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनमा ढिलाइ हुने भएको छ।
शिक्षकहरूले माग पूरा नभएसम्म उत्तरपुस्तिका परीक्षण नगर्ने घोषणा गरेपछि नतिजा प्रकाशितमा ढिलाइ हुने भएको हो।
शिक्षक महासंघले आन्दोलनलाई थप सशक्त बनाउने भन्दै उत्तरपुस्तिका परीक्षण, गोष्ठी, तालिममा सहभागी नहुन शिक्षकहरूलाई निर्देशन दिएको छ।
000
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले हरेक ठाउँमा विचौलियाहरूको बिगबिगी बढेको बताएका छन्।
आइतबार एक कार्यक्रममा बोल्दै उनले देशको राजनीति परिस्थिती एकदमै नाजुक भएको भन्दै हरेक ठाउँमा विचौलियाहरूको विगविगी बढेको बताएका हुन्।
देशमा भ्रष्ट्राचार न्यूनिकरण गर्न बनेकाे सरकारले साेचेजस्ताे काम गर्न नसकेकाे उनकाे भनाइ थियाे।
000
नेपाल मेडिकल कलेज जोरपाटीका आवासीय चिकित्सकहरू प्रदर्शनमा उत्रिएका छन्।
सरकारले मन्त्रिपरिषद्बाट पारित भएको न्यूनतम तलब ४८ हजार पाउनु पर्नेमा नपाएको भन्दै उनीहरू प्रदर्शनमा उत्रिएका हुन्।
आइतबार माइतीघरमा उनीहरूले ‘स्वास्थ्य शिक्षा माथिको चरम व्यापारीकरण नियन्त्रण गर’, ‘पीजी सिटको कालोबजारी बन्द गर’, स्वास्थ्य शिक्षामाथि राजनीति बन्द गर, आवासीय चिकित्सकमाथिको श्रम शोषण बन्द गर, लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।
000
राजावादी आन्दोलनका क्रममा भएको क्षतिमध्ये करिब पाँच करोड बराबरको बीमा दाबी परेको छ।
चैत्र १५ गते शुक्रबार काठमाडौंमा राजावादीहरूको प्रदर्शनीमा भएको हुलदङ्गाका कारण भएको क्षतिकाे ४ करोड सतासी लाख अरसठ्ठी हजार रुपैयाँ बराबरको माग दाबी परेको हो।
नेपाल बीमा प्राधिकरणका अनुसार ११ वटा निर्जीवन बीमा कम्पनीहरूमा उक्त रकम बराबरको बीमा दाबी परेको छ।
000
आइसिसी यू-१९ विश्वकप २०२६ अन्तर्गत एसिया छनोटको तयारीमा रहेको नेपाली यू-१९ टोलीलाई अफगानिस्तानको युवा टोलीले लगातार दोस्रो खेलमा पराजित गरेको छ।
मुलपानीमा आइतबार भएको दोस्रो खेलमा नेपालमाथि अफगानिस्तानले एक रनको रोमञ्चक जित निकालेकाे हाे।
अफगानिस्तानले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको नेपाल अन्तिम तीन बल खेल्न बाँकी छदा १ सय सरसठ्ठी रनमा अलआउट भयो।