रुसी फौजमा भर्ना भएर युक्रेनसँग युद्धमा पुगेका सात नेपाली युद्ध बन्दीहरु रिहाई गर्न युक्रेन तयार भएको परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बताएकी छिन्।
भारतीय भ्रमण सकेर शुक्रबार स्वदेश फर्किएकी परराष्ट्रमन्त्री राणाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन्।
युक्रेनी समकक्षी एद्री सिबिहासँग आफ्नो सकारात्मक कुराकानी भएको उनको भनाइ थियो।
000
पर्साको वीरगन्ज महानगरपालिका-२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीमाथि कुटपिट भएको छ।
प्रहरी र अर्को वडाका वडाध्यक्षसहित ७ जनाले आफूलाई कुटपिट गरेको भन्दै वडाध्यक्ष चतुर्वेदीले जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएका छन्।
फागुन २९ गते राति वीरगन्ज महानगरपालिका-८ स्थित डाइमन्ड पार्टी प्यालेसमा आफूलाई कुटपिट गरेको उनको दाबी छ। उनलाई कुटिरहेको भिडिओसमेत सार्वजनिक भएको छ।
000
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्रीको दौडमा नरहेको स्पष्ट पारेका छन्।
शुक्रबार वीरगञ्जमा आयाेजित एक कार्यक्रममा बाेल्दै उनले २०८४ सम्म प्रधानमन्त्री बन्ने होडमा आफू नरहेको स्पष्ट पारेका हुन्।
सरकारमा हुँदा एक कुरा र सरकार बाहिर हुँदा अर्कै कुरा गर्ने आरोप माओवादीलाई उपयुक्त नहुने उनकाे भनाइ थियाे।
000
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नाङ्गिएको सरकारको लाज छोप्न आफू अदालत धाइरहेको बताएका छन्।
शुक्रबार जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध पुनरावेदनका लागि उच्च अदालत पाटन पुगेका उनले सञ्चारकर्मीसँग कुराकानी गर्दै यस्ताे बताएका हुन्।
ठूला दुई राजनीति दल मिल्दा देश भयावह अवस्थामा पुगेको भन्दै क्रान्तिको लागि सबैलाई तयार रहन समेत उनले आग्रह गरेका थिए।
000
नेपाल सरकारले चैत ९ गते प्रथम राष्ट्रिय पानी सम्मेलन–२०२५ आयोजना गर्ने भएको छ।
शुक्रबार काठमाडौंमा जल तथा ऊर्जा आयोगले पत्रकार सम्मेलन गरी उक्त कुराको जानकारी दिएको हो।
सम्मेलन चैत्र ९ र १० गते दुई दिनसम्म सञ्चलन हुनेछ।
000
धनुषामा प्रहरीले हवाई फायर गरेको छ।
धनुषाको मुखियापट्टि मुसर्निया गाउँपालिका– ६ स्थित भन्सार छलीको सामान नियन्त्रणमा लिन खोज्दा हवाई फायर भएको हो।
प्रहरीमाथि नै आक्रमण प्रयास गरेपछि एक राउन्ड हवाइ फायर गरेको धनुषाका प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारीले जानकारी दिए।
000
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शिक्षा मन्त्रालय खारेज गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।
बिहीबार ह्वाइट हाउसमा उनले वरिपरि विद्यार्थीहरूलाई राखेर शिक्षा मन्त्रालय खारेज गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन्।
शिक्षा मन्त्रालयले पैसा मात्रै धेरै खर्च गरेको तर परिणाम चित्तबुझ्दो नभएकाले यसलाई राखिरहन उचित नहुने बताउँदै ट्रम्पले खारेजीको प्रक्रिया अगाडि बढाउन शिक्षा मन्त्री लिन्डा मिकमेहनलाई निर्देशन थिए।
000
नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर सावित्रा भण्डारी साम्बालाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २०८१ बाट सम्मान गरिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले फुटबलमार्फत् देशलाई चिनाएको भन्दै साम्बालाई शुक्रबार पुरस्कार प्रदान गरेका हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले दिएको उक्त पुरस्कार लिन साम्बाका बुबा उपस्थित भएका थिए।