‘राजा ल्याउने’ आन्दोलनको नेतृत्व गर्न पुराना पञ्चहरूले छानेका नवराज सुवेदीले राप्रपा त्यागेको घोषणा गरेका छन्। त्यो घोषणासँगै उनले देशव्यापी आन्दोलनका लागि एउटा समिति बनाएका छन्।
त्यो समितिमा राप्रपाकै बरिष्ठ नेताहरू पनि छन्। तर पार्टीकै अध्यक्ष राजेन्द्र लिङ्देनलाई भने समितिको दशौं नम्बरमा सदस्य बनाइएको छ। सुवेदीपछि पहिलो नम्बरमा हिन्दुवादी अभियान्ता अस्मिता भण्डारीलाई राखिएको छ।
त्यस्तै कमल थापा, केशरबहादुर बिष्ट, दुर्गा प्रसाईं, पशुपति समशेर राणा, प्रकाशचन्द्र लोहनी, रमा सिंह, रविन्द्र मिश्र र लिङ्देन पछि अन्तिममा हरिबहादुर बस्नेतलाई राखिएको छ। यद्यपि उनीहरूले यसलाई ‘वर्णानुक्रम’अनुसार राखिएको बताएका छन्।
तर राप्रपाकै नेताहरूले भने त्यसलाई निर्वाचित अध्यक्षको ‘अपमान’ भएको बताएका छन्।
000
नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि जेल चलान भएका पूर्वगृहसचिव टेकनारायण पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज भएको छ।
सोमबार न्यायाधीशद्वय कुमार चुडाल र महेश शर्मा पौडेलको इजलासले रिट खारेज गरेको हो।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर मानव तस्करी गरेको आरोपमा उनलाई प्रहरीले गत वैशाखमा पक्राउ गरेको थियो।
काठमाडौं जिल्ला अदालतले गत असार १ गते उनीसहित १६ जनालाई पुर्पक्षका लागि जेल पठाउने आदेश गरेको थियो।
000
भुटानी शरणार्थी प्रकरणमा मुछिएका बेचन झाले थुनामुक्तको माग गर्दै दायर गरेको रिट खारेज भएको छ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुलअजिज मुसल्मानको इजलासले सोमबार रिट खारेज गरिदिएको हो।
गत २ गते झाले थुनामुक्तको मागसहित निवेदन दायर गरेका थिए।
000
यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को सबै तयारी पूरा भएको रष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।
बोर्डले परीक्षाका लागि प्रश्नपत्र, सिम्बोल नम्बर, उत्तरपुस्तिका र अन्य सामग्री सबै जिल्लामा पुगिसकेको जनाएको छ।
यसवर्षको परीक्षामा अघिल्लो वर्षको तुलनामा ४९ हजार २ सय छयासी जना बढी अर्थात पाँच लाख १४ हजार ७१ जना सहभागी हुँदैछन्।
कार्यालयले यसवर्षको एसईई परीक्षाका लागि देशभर दुई हजार ७९ परीक्षा केन्द्र निर्धारण गरेको छ।
000
धनुषाको सबैला नगरपालिकास्थित भठिहनमा चोकको नामलाई लिएर दुई पक्षबीच झडप भएको छ।
दुई पक्षबीचको झडप बढ्न थालेपछि नियन्त्रणमा लिनका लागि प्रहरीले चलाएको गोली लागेर एकजना युवक घाइते भएका छन्।
घाइते हुनेमा सहिदनगर-१ का २० वर्षीय सन्तोष यादव रहेको प्रहरीले जनाएको छ। घाइते यादवको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
000
गृहमन्त्री रमेश लेखकले पूर्वविशिष्ट व्यक्तिहरूको सेवा सुविधाको अन्तिम निर्णयकर्ता सदन भएको प्रष्ट पारेका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले पूर्वविशिष्ट व्यक्तिहरूको सेवा सुविधालाई व्यवस्थित बनाउन आवश्यक विधेयक तर्जुमा गरिरहेको भन्दै कसलाई कति सुविधा दिने भन्ने विषयको निर्णयकर्ता सदन भएको बताएका हुन्।
सरकार राज्यलाई अनावश्यक आर्थिक दायित्व नपरोस्, सार्वजनिक पदहरूको मर्यादा र गरिमा वृद्धि होस् र नागरिक स्वीकार्यता र राज्यको सक्षमताको बीचमा सन्तुलन होस् भन्नेमा सचेत रहेको पनि उनले बताएका थिए।
000
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको वर्तमान गठबन्धन सरकारमा सहभागी हुने कुनै नीति नभएको दाबी गरेका छन्।
सोमबार काठमाडौंमा आयोजित उक कार्यक्रममा बोल्दै उनले माओवादी वर्तमान सकारमा जाने हल्ला निराधार भएको जिकिर गरेका हुन्।
सरकारमा जानेबारे कोहीसँग पनि औपचारिक कुराकानी नभएको उनेले स्पष्ट पारेका थिए।
000
नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले राजावादी आन्दोलनबाट सतर्क बन्नुपर्ने बताएका छन्।
सोमबार आफ्नै निवासमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्ला गतिविधिबारे आत्तिहाल्नुपर्ने अवस्था नभएपनि सतर्क बन्नुपर्ने बताएका हुन्।
जनताको आकांक्षा धेरै रहेको बताउँदै उनले राजनीतिक परिवर्तनपछि धेरै कामहरू भएको बताएका थिए।