आदित्यनाथको फोटो भाइरल बनाउने प्रदीप भारतमा, नेपाल नामिबियासँग फेरि पराजित (भिडियाे समाचार)

पूर्व राजा ज्ञानेन्द्र शाहलाई ‘स्वागत’ गर्नेहरूको भीडमा योगी आदित्यनाथको तस्बिर देखाउने प्रदीप बिक्रम राणा भारत पुगेका छन्। 

नेपालमा आफू सुरक्षित नभएकाे भन्दै उनी भारत पुगेका हुन्। 

राजसंस्था नफर्किएसम्म अन्तिम साससम्म लडिरहने बताउँदै अहिलेको सरकार नढलेसम्म नेपाल नफर्किने उनकाे जिकिर थियाे। 
 
गत आइतबार ज्ञानेन्द्र पोखराबाट फर्किदा राप्रपालगायत हिन्दुवादी पार्टी र संघसंस्थाले उनको स्वागतमा हजारौं मानिस जम्मा गरेका थिए। त्यही भीडमा उनले भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आतित्यनाथको तस्बिर देखाएका थिए। 

000

नेकपा माओवादी केन्द्रका प्रवक्तासमेत रहेका उपाध्यक्ष अग्निप्रसाद  सापकोटाविरुद्धको रिट हेर्दाहेर्दैमा राखिएको छ।

आज संवैधानिक इजलासमा सुनुवाइ नसकिएपछि अर्को पेसी तोक्ने गरी हेर्दाहेर्दैमा राखिएको हो। 

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चूडालको इजलासमा आज दिनभर रिट निवेदक पूर्णिमाया लामाको तर्फबाट बहस भएको थियो। 

रिट निवेदकका कानुन व्यवसायीले माओवादी नेता सापकोटाविरुद्ध फौजदारी कानुनअनुसार ज्यान मुद्दामा कारबाही अगाडि बढाउनुपर्ने आधार र कारण पेस गरेका थिए।

000

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट निर्माण र बाँडफाँटको अधिकार प्रदेश तथा स्थानीय सरकारलाई दिन नसकिने बताएका छन्।

प्रतिनिधि सभाको बुधबारको बैठकमा ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक २०८१’ प्रतिनिधि सभामा प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि विरोधको सूचनाको जबाफ दिँदै मन्त्री पौडेलले यस्तो बताएका हुन्।

उनले संघीय सरकार र संसदले विकास निर्माणका लागि नीति निर्माण गर्ने र बजटको सम्पूर्ण अधिकार तल्लो तहलाई दिँदा देश नबन्ने जिकिर गरेका थिए। 

000

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध परेको अदालतको अवहेलना सम्बन्धी रिट हेर्न नभ्याइनेमा परेको छ। 

सर्वोच्च अदालतका न्यायधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा तोकिएको पेसी हेर्न नभ्याइनेमा परेको हो। 

मेयर शाहले बलिउड चलचित्र आदिपुरुष लगायत अन्य हिन्दी फिल्महरू नेपाली हलमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि उक्त निर्णयविरूद्ध नेपाल चलचित्र सङ्घ उच्च अदालत पाटन पुगेको थियो। 

उक्त टिप्पणीपछि अधिवक्ता वर्षाकुमारी झाले २०८० असार ८ गते मेयर शाह विरुद्ध अदालतको अवहेलनामा कारवाहीको माग गर्दै रिट दायर गरेकी थिइन्।

000 

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले गणतन्त्र आइसकेपछि पनि राजतन्त्रको ऐन कानूनमा बाँचिरहने देश भएको बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित दूरसञ्चार उद्योगलाई पुनर्जीवित गर्दै राजस्व, प्रविधि र दिगोपना कार्यक्रममा उनले देश विकास गर्ने हो भने काम गर्ने शैली, तरिका बाझिएका पुराना भएका नीति, कानून बदल्नुपर्ने बताएका हुन्।  

यसका साथै, उनले आजको प्रविधिको हिसाबमा अगाडि बढ्नुपर्ने बताएका थिए। 

000

नेपाल राष्ट्र बैंकले चलनचल्तीका नोट छाप्न पहिलो चरणमा ६ कम्पनी छनोट गरेको छ।

पहिलो चरणमा छनोट हुनेमा चीनको चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेशन, बेलायतको डि ला रुउ इन्टरनेसनल, जर्मनको गिसिक डेभ्रियन्ट करेन्सी टेक्नोलोजी, रसियाको जोइन्ट स्टक कम्पनी, फ्रान्सको अबरथर फिड्युसेरी एसएएस र पोल्याण्डको पोलिस सेक्युरिटिज प्रिन्टिङ छानिएका हुन्।

छनोट भएका यी सबै कम्पनीले आगामी दुई वर्षसम्म हरेक पटकको छपाइको बोलकबोल प्रक्रिया (टेण्डर) मा प्रतिस्पर्धा गर्न सक्नेछन्।

यो अवधिमा जुन–जुन नोट छाप्न पर्ने हुन्छ, त्यसको लागि राष्ट्र बैंकले टेण्डर आह्वान गर्छ। यो प्रक्रियामा यी ६ वटै कम्पनीले भाग लिन पाउँछन् भने सबैभन्दा कम रकममा छाप्न तयार हुनेले टेण्डर प्राप्त गर्छ। 

अहिले बजारमा ६ खर्ब ४० अर्ब बराबरका नोट चलनचल्तीमा रहेका छन्। 

000 

अब पाँच करोड रूपैयाँ चुक्ता पुँजी भएको वा दश करोड रूपैयाँदेखि माथि रकमको कारोबार गर्ने लगानी कम्पनी नेपाल धितोपत्र बोर्डमा अनिवार्य दर्ता हुनुपर्ने भएको छ।

सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ मा हालै भएको संशोधन अनुसार धितोपत्र बोर्डले कम्पनीहरूलाई दर्ताको लागि आउन सार्वजनिक सूचना जारी गरेको हाे।  

कम्पनीको चुक्ता पुँजी, वार्षिक कारोबार खुल्ने कागजात लगायतका विवरण सहित बोर्डमा दर्ता हुन आउन कम्पनीहरूलाई भनिएको छ।

000

युगान्डामा जारी वुमन्स डे कपमा नेपाल नामिबियासँग फेरि पराजित भएको छ। 

युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा आफ्नो चौथो खेलमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको हो।

यसअघि पहिलो चरणमा पनि नेपाल नामिवियासँग ६ विकेटले पराजित भएको थियो। 

यो हारसँगै नेपालको फाइनल खेल्ने सम्भावना कमजोर बनेको छ। 

000

युक्रेनले रूससँगको युद्ध ३० दिनका लागि रोक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्ताव मान्ने भनेपछि अमेरिकाले रोकेको सैन्य सहायता र खुफिया सूचना फुकुवा गरेको छ।

साउदी अरेबियाको जेड्डामा मंगलबार अमेरिका र युक्रेनको वार्तापछि अमेरिकाले सो निर्णय गरेको हो।

ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्सको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग फेब्रुअरी २८ मा चर्काचर्की भएको तीन दिनपछि अमेरिकाले युक्रेनलाई दिइरहेको सबै सैन्य सहायता रोकेका थियो।

प्रकाशित मिति: : 2025-03-12 20:11:00

प्रतिकृया दिनुहोस्