धान काट्न मेसिनतिर आकर्षित किसान (फाेटाे/भिडियाे)

मोरङकाे उर्लाबारी- ९ मा धान काट्नका लागि आधुनिक ठूलो मेसिन प्रयोगमा भएपछि किसानहरु मख्ख परेका छन्।

कृषि मजदुर नपाएको अवस्थामा मेसिनको प्रयोगबाट धान काट्न पाउँदा किसानहरु मेसिनप्रति आकर्षित भएका हुन्। एकातिर कृषि मजदुरको अभाव र अर्कातर्फ उत्पादन लागत बढेको अवस्थामा किसानहरु नयाँ प्रविधिमा आकर्षित बन्न थालेको पाइएको हो।

मेसिन प्रयोग गरेर धान काट्दा माडिएर खेतमा नै धान झर्छ भनेर चिन्तित भएका उर्लाबारी- ९ बाेडरलाईनका नरेन्द्र देवान एउटा धानको बालो पनि खेर नगएपछि निक्कै खुसी भए। झन्डै ४ विगाहा बढी खेतको धान ३ घण्टामा नै ‘कम्बाइन हार्भेष्टर’ मेसिनले काटेको थियो। ‘यति छिटो धान काटेर झार्छ भन्ने कल्पना पनि थिएन’, देवानले भने।

प्रतिघण्टा ७ हजारको दरले धान काट्नका लागि ल्याइएको हार्भेष्टरले धान काटेको हेर्ने किसानहरुको भिड नै लागेको थियो। ‘धान काट्ने र त्यही झार्ने मात्र नभएर परालसमेत दाउनी गर्नु नपर्ने गरी राम्रो बनाउँदोरहेछ’, देवानले भने। खेत हेरि कम लागतमा धान काटेर घरमा नै थन्क्याउन समेत पुगेको उनको भनाइ छ।

अर्का किसान गजेन्द्र राईले पनि पहिलोपटक हार्भेष्टरबाट धान कटाएका छन्। ‘खेताला नपाएर हैरान भइरहेको अवस्थामा धान काट्ने मेसिन पाउँदा खुसी लाग्यो’, उनले भने। उनले एक बिगाहामा लगाएको धान एक घण्टा नपुग्दै काटेर थन्क्याउन भ्याएको उनले बताए।

हातले धान काट्दा, मुठा पार्दा, उठाउँदा र झार्दा मेसिनभन्दा दोब्बरसम्म खर्च हुने भएकाले यसको प्रयोग पछिल्लो समयमा किसानहरुले गर्न थालेको उर्लाबारी वडा नम्बर ९ का वडा अध्यक्ष नरबहादुर मोक्तानली बत्ताए। अहिले उर्लाबारी र आसपासको क्षेत्रमा दैनिक जसो कम्बाइन हार्भेष्टरको प्रयोग भइरहेको उनले जानकारी दिए।

कम्बाइन हार्भेष्टरले गहु काट्ने र दाउनी पनि गर्ने गर्छ। स्थानीय सरकारले कम्बाइन हार्भेष्टरमा अनुदान नदिए पनि धान काट्नका लागि रिपर भने दिँदै आएको छ। रिपरभन्दा कैयौ गुना हार्बेष्टर लाभदायक र छिटो छरितो हुने बताइन्छ।

खेतमा गरा साना तथा आली धुर धेरै भएकोले मेसिन प्रयोग गर्न असुविधा भएको किसानको भनाइ छ। ‘खेतका गरा ठूला बनाउँदा अहिले लागेको खर्च पनि कम हुने रहेछ’, स्थानीय कृषक विजय आङ्गबुहाङले भने।

समयको बचत र लागत खर्च कम गर्नका लागि यो उपयुक्त देखिएको किसानहरुको भनाइ छ।

प्रकाशित मिति: : 2024-11-17 06:19:00

प्रतिकृया दिनुहोस्