संसदमा सहकारी-प्रतिवेदन, सबैकाे ध्यान रविमाथि, माओवादी हेरेकाे हेरै (भिडियाे)

आज दिनभर धेरै मानिसकाे ध्यान संसद र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेमाथि रह्याे। तीन महिना बढी समय लगाएर सहकारीसम्बन्धी छानबिन विशेष समितिले तयार गरेकाे प्रतिवेदन संसदमा पेश भएसँगै रविमाथि लागेकाे आराेप र विवाद चर्चामा आयाे।

त्यस्तै आज प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा संयुक्त राष्ट्रसंघकाे महासभाका लागि अमेरिका जानेबारे जानकारी गराए। त्यसका अलवा आज संसद अधिवेशन अन्त्यकाे घाेषणा, राष्ट्रियसभाका दुई समितिमा सभापति चयन, नागरिकता समस्या समाधानका लागि समिति गठनलगायत गतिविधिहरु भए। यी लगायत आजका प्रमुख गतिविधिहरु यहाँ प्रतस्तुत छ:


संघीय संसदको चालु अधिवेशन अन्त्य

संघीय संसदको दुवै सदनको चालु अधिवेशन अन्त्य भएकाे छ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को सिफारिसअनुसार दुवै सदनको चालु अधिवेशन सोमबार राति १२ बजेदेखि अन्त्य गरेको राष्ट्रपति कार्यालयले जनाएकाे छ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले संसदको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।

राष्ट्रसङ्घको महासभामा भाग लिनेबारे प्रधानमन्त्रीले गराए संसदलाई जानकारी

प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघकाे महासभामा भाग लिन अमेरिका जानेबारे संसदलाई जानकारी गराएका छन्। आजकाे प्रतिनिधिसभा बैठकमार्फत् ओलीले उक्त विषय जानकारी गराएका हुन्।

ओलीले महासभामा भाग लिने क्रममा आफूले नेपालको शीर ढल्ने वा प्रतिष्ठा तल पर्ने गरी कुनैपनि काम नगर्ने स्पष्ट पारे।

राष्ट्रसंघकाे बैठकमा सहभागी हुन प्रधानमन्त्री ओलीकाे नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल असाेज ४मा अमेरिका प्रस्थान गर्दैछ।

सहकारी ठगीसम्बन्धी छानबिन समितिकाे प्रतिवेदन संसदमा पेश

सहकारीसम्बन्धी संसदीय छानबिन विशेष समितिले तयार पारेकाे प्रतिवेदन संसदमा पेश भएकाे छ।

साेमबार बसेकाे संसद बैठकमा समितिका सभापति सूर्यबहादुर थापाले प्रतिवेदन पेश गरेका हुन्।

सभामुख देवराज घिमिरेले उक्त प्रतिवेदन आवश्यक कामका लागि सरकारसमक्ष पठाउन संसद सविचालयलाई निर्देशन दिएका छन्।

रवि लामिछानेसहित गोर्खा मिडियाका चार सञ्चालकलाई कारबाही गर्न संसदीय समितिको सिफारिस

सहकारी ठगीबारे संसदीय छानबिन विशेष समितिले सूर्यदर्शनसहितका पाँच वटा सहकारीको ६५ करोड रुपैयाँ गोर्खा मिडियामा अपचालन भएको निष्कर्ष निकालेको छ।

समितिले संसदमा पेश गरेको प्रतिवेदनमा गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित चार जनालाई प्रचलित कानुन बमोजिम कारबाही गर्न सिफारिस समेत गरेको छ।

सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोरखा मिडया नेटवर्क प्रा.लि.को खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट निज सञ्चालकहरू अध्यक्ष गितेन्द्रबाबु राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको बताउँदै समितिले कारबाहीकाे सिफारिस गरेकाे छ।

जनयुद्धलाई अपमानित गरिनु दुर्भाग्यपूर्ण छ: सांसद बस्नेत

नेकपा (माओवादी केन्द्र)का सांसद शक्तिबहादुर बस्नेतले १० वर्षे जनआन्दोलनलाई संसदमा अवमूल्यन हुनेगरी बहस हुनु दुखद भएको बताएका छन्।

सोमबार प्रतिनिनिधिसभाको बैठकमा बोल्दै सांसद बस्नेतले सत्तारुढ दलका प्रतिनिधिहरुबाट १० वर्षको माओवादीको नेतृत्वको जनयुद्धको सशस्त्र संर्घषलाई अपमानित हुनु आफैँमा दुखद कुरा भएको बताएका हुन्।

सहकारी ठगीमा मेरो संलग्नता नभएको स्पष्ट भयो: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारी ठगीमा आफ्नो संलग्नता नभएको दाबी गरेका छन्।

सोमबार प्रतिनिधिसभाको बैठक पश्चात उनले रास्वपाले गैरकानूनी, अराजनीतिकजस्ता कुनैपनि गलत काम नगरेको भन्दै सहकारीको विषयमा पनि आफू गलत नभएको बताए।

उनले सहकारीसम्बन्धी छानबिन विशेष समितिले प्रतिवेदन बुझाएसँगै सहकारी ठगीमा आफ्नाे संलग्नता नरहेकाे पुष्टि बताएकाे बताए।

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

राष्ट्रियसभाअन्तर्गत विधायन व्यवस्थापन समितिकाे सभापतिमा एमालेकी तुलसाकुमारी दाहाल र सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापतिमा माओवादी केन्द्रका मायाप्रसाद शर्मा निर्वाचित भएका छन्।

आइतबार सिंहदरबामा भएकाे निर्वाचनमा दाहाल र शर्मा निर्वाचित भएका हुन्। 

उनीहरुले आजै राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।

नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन

गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन गरेको छ। गृह मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख टोकराज पाण्डेको संयोजकत्वमा आज पाँच सदस्यीय समिति गठन गरिएको हो।

समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका उपसचिव, कानुन मन्त्रालयको उपसचिव, गृह मन्त्रालयको कानुन महाशाखाका प्रतिनिधि र नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका उपसचिव सदस्य रहने छन्।

समितिलाई भदौ १५ भित्र  अध्ययन प्रतिवेदन पेस गर्न समयसीमा दिइएको छ।

नागरिक उड्डयन प्राधिकरण टुक्र्याउने विधेयक मन्त्रिपरिषद्‍मा

नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायक निकायका रूपमा छुट्याउनेसम्बन्धी विधेयक मन्त्रिपरिषद्‍मा पुगेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले यस्तो जानकारी गराएका हुन्।

उनले हालसम्म भएका हवाई दुर्घटनाबारे छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठनको प्रस्ताव समेत मन्त्रिपरिषद्‍मा पेस गरिएको जानकारी गराए।

कोशीका मुख्यमन्त्री कार्कीले असाेज २ मा विश्वासकाे मत लिने

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले फेरि विश्वासको मत लिने भएका छन्।

मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने गरि प्रदेश सभा सचिवालयमा प्रत्राचार गरेको उनको सचिवालयले जानकारी दिएको छ।

माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि फेरी विश्वासको मत लिन लागेका हुन्। 

ट्रम्पमाथि फेरी हमलाको प्रयास

अमेरिकी राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि फेरि हमलाको प्रयास भएको छ। फ्लोरिडाको वेस्ट पाम बीचमा रहेको उनको गल्फ कोर्समा गल्फ खेलिरहेको बेला गोली चलेको हो। 

सेक्रेट एजेन्टहरुले गोल्फ कोर्स नजिकै एक-४७ सहित एक व्यक्तिलाई देखेपछि गोली चलाएका थिए। तर, यस घटनामा ट्रम्प लक्षित गोली प्रहार भने भएको थिएन। ट्रम्पको अभियानको मुख्यालय पनि सोही गल्फ कोर्सको परिसरमा रहेकाले ति व्यक्तिले ट्रम्पलाई नै निशाना बनाउन  सो स्थलमा आएको मिडिया रिपोर्टमा उल्लेख छ।

राष्ट्रिय पुरुष फुटबल टिमको मुख्य प्रशिक्षकका लागि दरखास्त आव्हान

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको छ। सोमबार एन्फाले एक सूचना प्रकाशित गर्दै राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकका लागि दरखास्त आव्हान गरेको हो।

मुख्य प्रशिक्षकका लागि प्रो लाइसेन्स होल्डर भएको, ५ देखि १० वर्षको प्रशिक्षण अनुभव प्राप्त प्रशिक्षकले आवेदन दिन सक्ने सूचनामा उल्लेख छ। एन्फाले योग्यता पुगेका व्यक्तिले १५ दिनभित्रमा आवेदन दिनसक्ने उल्लेख गरेको छ।

विश्वकप लिग- २: आज नेपाल र क्यानडाबीच प्रतिस्पर्धा

आइसीसी विश्वकप क्रिकेट लिग– २ अन्तर्गत क्यानडा भ्रमणमा रहेको नेपालले आज घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्दैछ।

गत फेब्रुअरी अन्तिम साता नेदरल्यान्डसँग लिग– २कै ओडीआईमा ८ विकेटले पराजित भएपछि नेपालले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल्न लागेको हो।

नेपालले दोस्रो खेल असोज २ गते ओमानसँग खेल्ने छ। तेस्रो खेलमा असोज ६ गते क्यानडाको सामना गर्दा असोज ८ गते ओमानविरुद्ध प्रतिस्पर्धा गर्ने छ। ओडिआई सिरिज सकिएको २ दिन पछि तीनवटै टोलीले त्रिकोणात्मक टी–ट्वेन्टी आई सिरिज खेल्ने छन्।

प्रकाशित मिति: : 2024-09-16 20:37:00

प्रतिकृया दिनुहोस्