रोल्पामा रास्वपाको नेतृत्वमा अवरुद्ध सडक सुचारु

पश्चिम रोल्पाको सिस्ने गंगादेव सडक खण्डअन्तर्गत माडी गाउँपालिकाको दाङबाङ गाउँमा सडक सुचारु गरिएको छ। उक्त सडक भदौ १ गते राति परेको अविरल वर्षाले अवरुद्ध भएको थियो।

अवरुद्ध सडक खुलाउन कतैबाट पहल नभएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रोल्पा सम्बद्ध युवाहरुको नेतृत्वमा सडक सुचारु गरिएको हो। अवरुद्ध सडक घोराही थबाङ शहीद मार्गको सिस्नेदेखि ९ किलोमिटरको दूरीमा रहेको छ।

सडक खुलाउन भाडामा स्काभेटरको प्रयोग गरिएको छ। स्काभेटरलाई लाग्ने सम्पूर्ण खर्चको व्यवस्थापन स्थानीय बुद्धिजीवी तथा व्यवसायी बलबहादुर घर्तीमगरले गरेका छन।

‘जनताको दैनिकीसँग जोडिएको अवरुद्ध सडक खुलाउन कतैबाट पहल भएन। हामी रास्वपाका युवाहरुको नेतृत्वमा सडक खुलाउन अग्रसर भयौं’, बुद्धिजीवि घर्तीमगरले भने, ‘जनताको दैनिकीसँग जोडिएको विषयमा सम्बद्ध निकायको समयमा चासो होस् भन्ने उद्देश्यले हामीले सडक खुलाएका हौं। सडक खुलाउँदा लागेको सम्पूर्ण खर्चको व्यवस्थापन म आफैंले गरेको छु।’

महिना दिन बित्न लाग्दा पनि अवरुद्ध सडक खुलाउन स्थानीय सरकारले चासो नदिएपछि आफूहरुको नेतृत्वमा सडक सुचारु गरिएको रास्वपाका पार्टी सदस्य तुल्सीराम घर्तीमगरले जानकारी दिए। ‘चाडपर्वको समय नजिकिदै गर्दा अवरुद्ध सडक खुलाउन स्थानीय सरकार र जनप्रतिनिधिहरुले पहल गर्नु पर्ने हो। तर कतैबाट चासो दिइएन’, उनले भने, ‘जनताको दैनिकीसँग जोडिएको विषयमा तत्काल पहल गर्नुपर्छ भन्ने सन्देश प्रवाह गर्न हाम्रो नेतृत्वमा सडक सुचारु गरेका हौं। सडक सफा गर्ने नाममा खाइने कमिसन बन्द गर्नुपर्छ भन्ने हाम्रो स्पष्ट मान्यता हो।’

सिस्ने गंगादेव सडकलाई संघीय सरकारका पूर्वअर्थमन्त्री वर्षमान पुनले पनि उपेक्षा गरेको रास्वपाका पार्टी सदस्य बेगम प्रसाद घर्तीमगरले गुनासो गरे। ‘पूर्वअर्थमन्त्री वर्षमान पुनले पनि सिस्ने गंगादेव सडकमा बजेट दिएनन्। यस्तै खालका अन्य सडकमा उनले लाखौं पैसा हालेका छन। तर ३ नं. वडामा एउटा पनि योजनाको लागि पैसा हालेनन्’, उनले भने, ‘वर्षमानले जता आफ्ना नजिकका कार्यकर्ता उटैतिर मात्रै बजेट विनियोजन गरे। राज्यकोषको पैसा आफ्ना नजिकको कार्यकर्ताको स्वार्थमा बाँडे। त्यो बजेट सही सदुपयोग हुनेवाला छैन।’

सिस्ने गंगादेव सडक स्तरोन्ति गर्न गाउँपालिका, प्रदेश सरकार र संघीय सरकारले पहल नगरेको स्थानीय चन्द्रबहादुर घर्तीमगरले गुनासो गरे।

उनले भने, ‘यो बाटो बनेको धेरै वर्ष भई सक्यो। वर्षायाममा सधैं पहिरो झरेर बाटो बन्द हुन्छ। गाउँपालिकाले पनि हेर्दैन। आज बाटो खुल्दा गाउँलेहरु खुसी छन।’

स्थानीय सरकारले अवरुद्ध सडक सुचारु गर्न पहल नगरे पनि रास्वपा सम्बद्ध युवाहरुको नेतृत्वमा सडक सुचारु हुनुले स्थानीय सरकारलाई दबाब परेको स्थानीय समृद्धि युवा क्लवका अध्यक्ष राजकुमार घर्तीमगरले बताए।

उनले भने, ‘यहाँको सडक खुलाउने काम स्थानीय सरकारको हो। स्थानीय सरकारले चासो नदिएपछि रास्वपा सम्बद्ध युवाहरुले चासो दिनु राम्रो पक्ष हो। हामी युवाहरुले त राम्रो काम गर्नेलाई यो वा त्यो नभनीकन सहयोग गर्ने हो।’

प्रकाशित मिति: : 2024-09-06 18:04:00

प्रतिकृया दिनुहोस्