नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीलाई जोगाइदिन राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्रीले आफूसँग अनुरोध गरेको आरोप लगाएका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा बाेल्दै सांसद बजगाईंले क्यानका डिजी आफ्नो मान्छे भएको भन्दै जोगाउनुपर्यो भनेर रास्वपाका सहमहामन्त्री आफूकहाँ आएको आराेप लगाएका हुन्।
‘क्यानको विषयमा आज यहाँ छलफल हुँदैछ। करिब १३ जना प्रतिपक्ष दलका माननीयज्यूहरूले सार्वजनिक महत्वको प्रस्ताव यहाँ दर्ता गराउनुभएको छ। यसै पार्टीका सहमहामन्त्री एक जना मित्र हतारिएर मकहाँ आउनुभयो। क्यानका डिजीको बारेमा उहाँ हाम्रो मान्छे, हाम्रो निर्वाचन क्षेत्रको मान्छे, रवि लामिछानेजी उहाँको दलको निर्वाचन क्षेत्रको मान्छे, उहाँलाई जोगाउनुपर्यो भनेर अचानक मकहाँ आइपुग्नुभयो। त्यो पार्टीको सहमहामन्त्री हुनुहुन्थ्यो। म यहाँ प्रश्न गर्न चाहन्छु, यो द्वयद चरित्रले देश कहाँ पुग्छ ? नयाँ पार्टीसँग हाम्रो यत्रो ठूलो आशा छ, जनताकाे भराेसा छ भनेर भनिएकाे छ। यस्तो डबल स्ट्यान्डरले हाम्रो देशमा नयाँ पार्टीबाट हुन्छ भन्ने मैले कहिल्यै कल्पना गरेको थिइनँ’, उनले भने।