पूर्वडीआईजी रमेश खरेलविरुद्ध अख्तियार उजुरी

File Photo
File Photo

नेपाल प्रहरीका पूर्वनायव महानिरीक्षक (डीआईजी) रमेश खरेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेकाे छ।

आफूलाई अभियन्ता बताउने युवराज सफलले खरेलविरुद्ध आइतबार अख्तियारमा उजुरी दर्ता गरेका हुन्।

खरेलले नक्कली सुराकी खडा गरी लिइएको कमिसन रकमबारे छानबिन गरी कारवाही गर्न माग गर्दै उनले अख्तियारमा उजुरी दिएका हुन्।

‘सुराकी वापत कमिसन खाएँ’ भन्ने खरेलकाे अभिव्यक्तिले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

सफलले कानुनले वास्तविक सुराकीकर्तालाई सुराकी गरेवापत निश्चित रकम प्रोत्साहनवापत दिने व्यवस्था गरेतापनि निज खरेलले आफ्नी श्रीमतीलाई नक्कली सुराकी खडा गरी हाकाहाकी विभिन्न जिल्लामा हुँदा लाखौँ रुपैयाँ सुराकी रकम कमिसन लिएको बताएकाे उल्लेख गरेका छन्।

‘सहि सुराकीलाई नदिईकन् नक्कली सुराकी खडा गरी सुराकी कमिसन रकम लिने दिने कार्य पनि भ्रष्टाचारजन्य कार्यभित्र नै पर्ने हुँदा निज भ्रष्टचारमा संलग्न रमेश खरेललाई तत्काल प्रक्राउ गरी निजले राज्य कोषवाट लिएको रकम कति हो सो राज्य कोषमा दाखिला गर्न लगाई निजलाई भ्रष्टाचार ऐन वमोजिम कडा कारवाही गर्न माग गर्दछु’, उनले भनेका छन्। 

यस्ताे छ युवराज सफलले अख्तियारमा दिएकाे उजुरी

मिति : २०८१ भाद्र २
माननीय प्रमुख आयुक्त ज्यू
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, केन्द्रीय कार्यालय, टंगाल, काठमाडौं ।
विषय : नक्कली सुराकी खडा गरी लिइएको सुराकी कमिसन रकम बारे छानविन गरी आवश्यक कारवाही गरी पाउँ ।
महोदय,
उपरोक्त सम्बन्धमा यो जानकारी गराउन चाहन्छु कि नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेलले सुराकी वापत कमिसन खाएँ भन्ने अभिव्यक्ति दिएको प्रति देशभक्त राष्ट्रवादी नागरिक म युवराज सफलको गम्भीर ध्यानाकर्षण भएको छ । कानुनले वास्तविक सुराकी कर्तालाई सुराकी गरेवापत निश्चित रकम प्रोत्साहनवापत दिने व्यवस्था गरेतापनि निज रमेश खरेलले आफ्नी श्रीमतीलाई नक्कली सुराकी खडा गरी हाकाहाकी विभिन्न जिल्लामा हुँदा लाखौं रुपैयाँ सुराकी रकम कमिसन लिएको कुरा वताएका थिए । सहि सुराकीलाई नदिईकन् नक्कली सुराकी खडा गरी सुराकी कमिसन रकम लिने दिने कार्य पनि भ्रष्टाचारजन्य कार्यभित्र नै पर्ने हुँदा निज भ्रष्टचारमा संलग्न रमेश खरेललाई तत्काल प्रक्राउ गरी निजले राज्य कोषवाट लिएको रकम कति हो सो राज्य कोषमा दाखिला गर्न लगाई निजलाई भ्रष्टाचार ऐन वमोजिम कडा कारवाही गर्न माग गर्दछु ।

साथै विभिन्न समयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइवी) ले वरामद गरेको ३५ किलो सुन लगायत हालसम्म जफत गरेका सुन प्रकरणमा समेत प्रहरीका उच्च अधिकारीहरुले नक्कली सुराकी खडा गरी प्रहरीकै आफन्तहरुको नाममा करोडौं रुपैयाँ सुराकी कमिसन दिएको भनी विभिन्न संचार माध्यमहरुमा समाचार प्रकाशन प्रसारण भएको कुरा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जानकारी भएकै हुनुपर्छ।

अत सुराकी कमिसनको नाममा हुँदै नभएको नक्कली सुराकी गरी हालसम्म अवौं रुपैयाँ घोटाला भई राज्य कोषमा घाटा लाग्न गएकोले २०४६ सालपछि विभिन्न प्रकरणमा वितरण गरिएका एवम् सुराकी कमिसन वापत भुक्तानी गरिएका रकम एवम् रकम प्राप्त गर्नेहरुको विस्तृत विवरणको सक्कल फाइल झिकाई नक्कली सुराकी बनेर निजहरुले लिएका रकमहरु अविलम्व राष्ट्रिय ढुकुटीमा ल्याई निजहरुलाई नक्कली सुराकी खडा गरी सुराकी कमिसन लिएको नाममा कानुन वमोजिम हदैसम्मको कारवाही गर्न गराउन एक सचेत इमान्दार, स्वाभिमानी र देशभक्त नागरिकको तर्फवाट प्रस्तुत उजुरी पेश गरेको हुनाले यस उजुरी उपर आवश्यक अनुसन्धान गरी दोषी देखिएकाहरुलाई कारवाही गर्न माग गर्दछु ।
निवेदक
युवराज सफल

प्रकाशित मिति: : 2024-08-18 14:16:00

प्रतिकृया दिनुहोस्