नेपाली काँग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई नेपाली कांग्रेस र नेकपा एमालेलाई भुइँतिर राखेर सरकार चलाउन चुनौती दिएका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद थापाले रास्वपाले २०८४ मा सबैभन्दा ठूलो दल बनेर कांग्रेस र एमालेलाई हटाउने दाबी गरेको भन्दै जित्यो भने कांग्रेस र एमालेलाई भुइँतिर राखेर सरकार चलाउँदा हुने बताए।
उनले भने, ‘ठूला दलले ठूलो कुरा गर्ने भन्ने सुन्नमा आउँछ, यो सानो दल, ठूलो दलको परिभाषा के हो, ०६४ सालमा माओवादी पनि ठूलो दल होइन? अहिले रास्वपाको त दाबी छ- ०८४ मा सबैभन्दा ठूलो दल हुन्छौँ कांग्रेस र एमालेलाई बढार्छौँ। ठूलो दल बनेर कांग्रेस र एमालेलाई भुइँतिर राखेर सरकार चलाउने।’
यसैगरी उनले संघीयतालाई योभन्दा थप प्रभावकारी बनाउनुपर्ने भन्दै हरेक तहमा दलित र महिलाको सहभागिता सुनिश्चित गर्नुपर्ने बताए।
उनले भने, ‘हामीले संसदसम्म ल्याउँछौ तर मन्त्रिपरिषद् बनाउने बेलामा संविधानमा नलेखेको हुदा महिला छुटाइहाल्छौँ। हामी जुनसुकै पार्टीको होस् दलित छुट्टाइहाल्छौँ। योभन्दा अगाडि पुष्पकमल दाहालले गर्जिएर यहाँबाट भन्नुभयो तर उहाँकै मन्त्रीमण्डलमा हामीले दलित छुट्टायौँ। हामी यतिसम्म गर्छौँ कि दुई वटा पार्टी मिलेर गठबन्धन गर्दैगर्दा राष्ट्रपति र उपराष्ट्रपति दुइजना नै पुरुष बनाउँछौँ। गाँउपालिकामा मौका मिल्नासाथ अध्यक्ष र उपाध्यक्ष पनि पुरुष बनाउँछौँ। प्रदेशका सरकार यसैगरी चलाउने हो ? हामी संघीयतालाई योभन्दा थप प्रभावकारी बनाउने कि नबनाउने, संघीयता योभन्दा राम्रो बनाउने हो।’
महामन्त्री थापाले बिजुली प्रयोग गर्नेको बक्यौता जसरी पनि उठाउनुपर्ने भन्दै यस विषयमा कसैलाई अन्याय नहुने हिसाबले काम गर्नुपर्ने बताए।
उनले भने, ‘जसले बिजुली प्रयोग गरेको छ, प्रयोग गर्नेको बक्यौता नउठाउ भनेर कसैले भन्छ एक रुपैयाँ पनि छोड्न पाइँदैन। सरकारका निकायलाई पनि निर्देशन अनुसार काम गर्नुपर्छ। विधिको शासनमा चल्नु पर्छ। सरकारले यहाँ आएर स्पष्ट पानुपर्छ। बिजुली प्रयोग गरेको छैन भने अन्याय हुन दिदैनौ र प्रयोग गरेको छ भने राज्यको कोषको एक रुपैयाँ पनि तलमाथि हुन दिन्न भनेर सरकारले विश्वास दिलाउनु पर्छ।’