नेकपा माओवादी केन्द्रले आगामी चुनाव एक्लै लड्ने निर्णय गरेको छ।
विगत पाँच दिनेदेखि बस्दै आएको पदाधिकारी बैठकले आगामी निर्वाचनमा एक्लै चुनावमा लड्ने र त्यसको तयारीको लागि जनतामा जाने निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन्।
उनले भने, ‘आगामी निर्वाचनमा एक्लै चुनावमा लड्ने तयारी गर्नुपर्छ। गठबन्धभित्र अरु पार्टीहरुलाई पनि सन्तुलन गर्नुपर्ने हुदाँ हाम्रो विचार, सिद्धान्त, राजनीतिक कार्यदिशा जनतामाझ लाने मौका मिलेको थिएन। अब जनतामा जाने निष्कर्षमा पुगेका छौँ।’
यसको साथै कम्युनिष्ट पार्टीको पुनर्गठन र सामाजिक न्यायसहितको समृद्ध समाज जनताको चाहना भएको भन्दै बृहत वामपन्थी एकीकरणको विस्तारसँगै कम्युनिष्ट पार्टीको पुनर्गठन पनि गर्ने सापकोटाले बताए।
उनले भने, ‘हामीले कम्युनिष्ट पार्टीको पुन गठनको लागि निरन्तर प्रयास गरिहनु पर्छ र हाम्रो बैठकको निचोड पनि बृहत वामपन्थी एकीकरण त विस्तार गर्दै अहिले जुन चार वटा पार्टीको सयुक्त मोर्चा छ, त्यसलाई विस्तार गरेर लैजान्छौँ नै यसको साथै, कम्युनिष्ट पार्टीको पुनर्गठन पनि निश्चित रुपमा हुन्छ किनभने कम्युनिष्ट पार्टीको पुनर्गठन होस र सामाजिक न्यायसहितको समृद्धि कायम होस भन्ने जनता चहान्छन्। जनताको त्यो सपना पूरा गर्नका लागि हाम्रो तर्फबाट नेतृत्वदायी भूमिका खेल्ने समझदारी भएको छ’, प्रवक्ता सापकोटाले भने।
यस्तै, उनले प्रमुख प्रतिपक्षको भूमिकालाई सशक्त रुपमा निर्वाह गर्ने, सदनलाई प्रभावकारी बनाउने र संख्या कम भएपनि त्यसलाई गुणात्मक बनाउने निर्णय पनि भएको बताए।
उनले भने, ‘यसको साथै प्रमुख प्रतिपक्षको भूमिकालाई सशक्त रुपमा निर्वाह गर्ने, सदनलाई प्रभावकारी बनाउने, हाम्रो संख्या कम भएपनि त्यसलाई गुणात्मक बनाउने र देश र जनताका जल्दो बल्दो समस्या र पहिला हाम्रो सरकारले सुरु गरेका सामाजिक न्यायसहितको सुशासन समृद्धिका सवालहरुलाई अझ खोज अनुसन्धानसहित गम्भीरता पूर्वक उठाउने, भ्रष्टाचार विरोधी अभियानलाई अगाडि बढाउन सरकारलाई दबाब दिने निर्णय भएको छ। साउनको २५ गते स्थायी समितिको बैठक बस्ने निर्णय पनि भएको छ।’
पार्टी अध्यक्षले मुख्य रुपमा देशव्यापी रुपमा जनताको माझमा गएर जनताको कुरा सुन्ने कुरा उठाएको पनि प्रवक्ता सापकोटाले भनाई छ।