त्रिशूलीमा बेपत्ता बस र यात्रुको अवस्था अझै अज्ञात

चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट त्रिशूली नदीमा खसेका दुईवटा बस र यात्रुको अवस्था अझै अज्ञात रहेको छ।

शुक्रबार र शनिबार सेना, सशस्त्र प्रहरीका गोताखोर र नेपाल प्रहरीको प्रयासमा ४ जनाको शव फेला परेको छ। जसमध्ये दुई जनाको मात्र पहिचान खुल्न आएको छ।

दुई जनामध्ये सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार सीतामणी बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषिपल साह रहेका छन्। बाँकी यात्रु र बसको भने आज पनि खोजी सुरु भएको छ।

भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रवार बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ख १५१६ नम्बरको एञ्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिरोले त्रिशूलीमा बगाएको थियो।

काठमाडौँबाट गौरका लागि गएका बसमा २७ र वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बसमा २४ यात्रु रहेको बताइएको छ।

यता, बेपत्ता भएकाहरुका परिवारजनले खोजीकार्य प्रभावकारी बनाउन माग गरेका छन्। उनीहरुले बेपत्ताको खोजी गर्न आवश्यक प्रविधि र संयन्त्रको प्रयोग गर्दै सबै शक्ति परिचालन गर्न अनुरोध गरेका छन्।

प्रकाशित मिति: : 2024-07-14 10:40:00

प्रतिकृया दिनुहोस्