मुकुल ढकालले भने- रविलाई तपाईं सुध्रिनुस् भन्दा मलाई कारबाही भयो

Break n Links
Break n Links

राष्ट्रिय स्वतन्त्र पार्टीबाट कारबाहीमा परेका नेता मुकुल ढकालले सभापति रवि लामिछानेको आलोचना गर्न खोज्दा आफूलाई कारबाहीको स्थितिसम्म पुर्‍याएको आरोप लगाएका छन्।

केही दिनअघि उनले देशका ३८ जिल्ला घुमेर रास्वपाको स्थितिबारे प्रतिवेदन तयार गरेका थिए र त्यसलाई सञ्चारमाध्यमबाट सार्वजनिक गरेका थिए। त्यही विषयमा विवाद बढ्दै जाँदा उनलाई पार्टीले महामन्त्री र प्रवक्ताको पदबाट निलम्बन गरेको छ।

आफू निलम्बित भएपछि बुधबार पत्रकार सम्मेलन गर्दै ढकालले आफूलाई रोक्नका लागि रविले आफ्ना विभिन्न मान्छेहरू र राज्यका संयन्त्रहरूसमेत प्रयोग गरेको दाबी गरे।

‘मैले पार्टी बचाउनुपर्छ। तपाईं-हामी सुध्रिनुपर्छ भन्दा ज्वाला संग्रौलालाई प्रयोग गर्नुभयो। रमेश प्रसाईंलाई प्रयोग गर्नुभयो। अनि मुकुल ढकाल मेरोविरुद्धमा लागेको छ भनेर पुलिसलाई समेत खटाउनुभयो’, उनले भने, ‘सरकारले काम गर्न नसकेर तपाईं पनि असक्षम हुनुभयो भन्ने कुरा थियो त्यो पनि भन्न दिएनन्। पहिलो पटक प्रश्न गर्दा उहाँले जवाफ दिनु भएन। बरु कारबाही गर्नुभयो। अहिलेसम्म उहाँले कुनै पनि कुराको जिम्मेवारी लिनुभएन।’

उनले आफूलाई स्पष्टीकरणको मौकासमेत नदिएर आफूलाई कारबाही गरेको पनि बताए।

‘यो पार्टीमात्रै होइन, राज्यको कानुनको समेत बर्खिलाप छ’, उनले भने, ‘उपसभापतिले मलाई कारबाहीको पत्र थमाउनुभयो। यस्तो त झन गर्नै मिल्दैन। यो पनि अवैधानिक छ।’

प्रकाशित मिति: : 2024-07-10 15:27:00

प्रतिकृया दिनुहोस्