वर्षाको कारण देशका विभिन्न ठाउँहरुमा डुवानमा परेकाहरुको सशस्त्र प्रहरीले अन्य सुरक्षा निकायको समन्वयमा सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ।
सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–८ गोइसारमा वर्षाको कारण टेङ्गा खोलाको बाँध फुटी जोखिम रहेका २० घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
साथै सो क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल राजश्व प्रहरी इकाई इटहरी, नेपाली सेना, नेपाल प्रहरी तथा नगर प्रहरीसहितको टोलीले बाँध बाध्ने कार्य गरिरहेको छ।
त्यसैगरी सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका–२ सिद्धिपुरको सुकुम्बासी बस्तीमा त्रियुगा नदीमा पानीको बहाव बढी डुवानमा परेका १६ घरपरिवारलाई सुरक्षा वेश फत्तेपुर र नेपाल प्रहरीको संयुक्त टोलीले सुरक्षित स्थानमा सारेको छ।
यस्तै, झापा जिल्लाको झापा गाउँपालिका–२ स्थित सुगाँबथानमा माई खोलामा पानीको बहाव बढ्दा डुवानमा परेका १० घरपरिवारलाई बिओपी टागनडुब्बा र नेपाल प्रहरीको संयुक्त टोलीले सुरक्षित स्थानमा सारेको छ।
यसैगरी सिरहा जिल्लाको कल्याणपुर नगरपालिका–६ भोक्राहास्थित कमला नदीमा पानी बहाव बढ्दा नदीको बीच भागमा फसेका ५ जनाको सुरक्षा बेश कल्याणपुर र सुरक्षा वेश दुवरकोटको टोलीले सकुशल उद्धार गरेको हो।
यता, वर्षाका कारण अवरुद्ध सडक काठमाडौँको शंखरापुर नगरपालिका–३ स्थित जहरसिंह पौवा–कात्तिके सडकखण्डमा सशस्त्र प्रहरीले असार २५ गतेदेखि सुचारु गरेको छ।
साे सडकखण्डमा पर्ने खहरे ठाडो खोल्सामा आएको बाढीले एकतर्फी सडक अवरुद्ध भएपछि सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश लप्सीफेदीबाट खटिएको सुरक्षा फौजले दुवैतर्फ बाटो सुचारु गरेको हो।