जसपाका मन्त्रीको राजीनामा स्वीकृत, प्रधानमन्त्रीको काँधमा १० वटा मन्त्रालय

जनता समाजवादी पार्टी (जसपा)का मन्त्रीहरुले दिएको राजीनामा स्वीकृत भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्का स्वास्थ्य तथा जनसङ्‌ख्यामन्त्री प्रदीप यादव, वन तथा वातावरणमन्त्री नवलकिसोर साह सुडी र स्वास्थ्य तथा जनसङ्‌ख्या राज्यमन्त्री हसिना खानले प्रधानमन्त्रीसमक्ष दिएको राजीनामा स्वीकृत गरेका हुन्।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम आ-आफ्नो पदबाट राजीनामा दिएकाले प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डको सिफारिसमा उनीहरूले सम्हाली आएका उक्त मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री स्वयमले सम्हाल्ने गरी तोकेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ।

यससँगै प्रधानमन्त्री प्रचण्डको काँधमा १० वटा मन्त्रालय थपिएकाे छ।

यसअघि नेकपा एमालेका ८ जना मन्त्रीले राजीनामा दिएका थिए। राष्ट्रपति पौडेलले एमालेका मन्त्रीहरुले राजीनामा स्वीकृत गर्दै उनीहरुले सम्हालेको ८ मन्त्रालयकाे कार्यभार प्रधानमन्त्री प्रचण्डलाई तोकेका थिए। 
 

प्रकाशित मिति: : 2024-07-08 17:19:00

प्रतिकृया दिनुहोस्