‘मधेसको शिक्षाको अवस्था सुधार्न सरकार गैरजिम्मेवार भयाे’

प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले विद्यार्थीको अनुपातमा तहगत र विषयगत शिक्षक दरबन्दी कायम गरी शिक्षकको व्यवस्था गर्नुपर्ने र गुणस्तरीय शिक्षाका आन्दोलनमा उत्रिने भएको छ।

आजपाले गुणस्तरीय शिक्षाको व्यवस्थाका लागि मधेस प्रदेशबाट शैक्षिक आन्दोलनको आन्तरिक तयारीमा जुटेको छ।

पछिल्लो समय आजपानिकटको आम विद्यार्थी मोर्चाले मधेस प्रदेशका विभिन्न जिल्लाका विद्यालयहरुमा शिक्षक, विद्यार्थीको अवस्था बुझ्न अनुगमन गरेको छ। आम विद्यार्थी मोर्चाका अध्यक्ष विवेक साहले मधेस प्रदेशका कुनै पनि विद्यालयमा विद्यार्थी अनुपातमा तहगत र बिषयगत शिक्षक नभएको बताए।

‘हामीले यसबारेमा स्थानीय प्रशासन देखि सरकारलाई जानकारी गराएका छौँ। मधेस प्रदेशका विद्यालयहरुमा विद्यार्थीको अनुपातमा विषयगत र तहगत शिक्षकको व्यवस्था गर्नुपर्ने माग गरेका छौँ’, अध्यक्ष साहले भने, ‘सरकारले गुणस्तरीय शिक्षाका लागि विद्यार्थी अनुपातमा विषयगत र तहगत शिक्षकको व्यवस्था नगरे अब हामी आन्दोलनमा उत्रिन बाध्य हुनेछौँ।’

आजपा र आम विद्यार्थी मोर्चाका नेताहरुले मधेस प्रदेशका बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी जिल्लाका सयौँ विद्यालयमा विद्यार्थी र शिक्षकको अवस्था कस्तो रहेको भन्नेबारेमा अनुमगन गरेको छ।

अनुगमन गरिएको रिपोर्ट पार्टी केन्द्रीय कार्यालयमा बुझाउने र सो बारेमा समिक्षा गरी आन्दोलनको घोषणा गरिने आजपाका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहले जनाएका छन्।

‘हामीले सयौँ विद्यालयको अवस्था के कस्तो छ भन्ने बारेमा विद्यालयमै पुगेर बुझेका छौँ। सरकारले मधेसको शिक्षालाई माथि ल्याउन नचाहेको देखियो। मधेसको गुणस्तरीय शिक्षाका लागि सरकारको कार्यशैली गैरजिम्मेवार रहेका देखिन्छ’, वरिष्ठ उपाध्यक्ष साहले भने, ‘हामीले विद्यार्थी अनुपातमा विषयगत र तहगत शिक्षकको व्यवस्था गराउँन आन्दोलनमा जानुको विकल्प छैन्।’

आजपा र आम विद्यार्थी मोर्चाका नेताहरुले हालै धनुषा जिल्लाको बिभिन्न विद्यालयमा विद्यार्थी र शिक्षकको अवस्थाको बारेमा अनुगमन गरेका छन्। जनकपुरधामस्थित सरस्वती माध्यमिक विद्यालय, बसहियाको गोपाल प्रसाद नमुना माध्यमिक विद्यालय, मध्यमिक विधालय गिद्धा बेलापट्टीलगायतका विद्यालयहरुको अनुगमन तथा अन्तरक्रिया कार्यक्रम गर्दा त्यहाँ विद्यार्थी अनुपातमा विषयगत र तहगत शिक्षकको अभाव रहेको देखिएको अनुगमनमा पुगेका आजपा वरिष्ठ उपाध्यक्ष साहले बताए।

आजपा वरिष्ठ उपाध्यक्ष साहका साथै सचिव श्रीचन मुखिया, श्रीलाल महासेठ, ममता शर्मा सहितका नेताहरुको अनुगमनमा पुगेका थिए। अनगमनमा पुग्दा कतिपय विद्यालयको भौतिक पूर्वाधारसमेत प्रयाप्त नदेखिएको नेताहरु बताउँछन्। पीडादायी अवस्थामा विद्यार्थीहरुले पठनपाठन गर्नुपर्ने अवस्थ रहेको छ।

शिक्षा ऐनविपरीत गरिएको शिक्षक दरबन्दीको असमान वितरण खारेज गर्न र विद्यार्थी संख्याको अनुपातमा तहगत र विषयगत शिक्षकको व्यवस्था गर्नुपर्ने निष्कर्षमा आजपा पुगेको छ।

आजपा महासचिव त्रिभुवन साहले मधेसको शिक्षाको अवस्था सुधारका लागि सरकारले चासो नदिएको बताउँदै अब छिटै नै आजपा निर्णायक आन्दोलनमा उत्रिने बताए।

विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्थापन नभदेखिएको, एउटै कक्षाकोठामा सयौं विद्यार्थीहरु कोचिएर पठनपाठन गर्नुपर्ने कारणले विद्यार्थीको भबिष्यसंग खेलवाड गर्ने सरकारका विरुद्धमा आन्दोलन गर्नुको बिकल्प नभएको महासचिव साहले बताए।

तहगत र बिषयगत अपुग शिक्षकको गराउन, गुणस्तरीय शिक्षाको व्यवस्था, विभेदकारी शिक्षकको दरबन्दी वितरण खारेज गर्नुपर्ने लगायतका बिषयमा छलफल गर्दै पार्टी केन्द्रीय कमिटीको निर्णयअनुसार अब अगाडि बढने उनले बताए।

४० देखि ५० विद्यार्थी संख्यामा एक जना शिक्षक रहने सरकारी मान्यता विपरीत मधेसमा ८० देखि १०० विद्यार्थी बराबर एक शिक्षक रहेको र हजारौँ विद्यार्थीमा शिक्षक दरबन्दी शून्य रहेको साथै विषयगत शिक्षकको पुरै अभाव रहेको विडम्बनापूर्ण स्थितिमा विद्यार्थीको भविष्यको लागि आन्दोलन मात्र एक विकल्प रहेको निष्कर्ष अनुगमनमा गएका नेताहरुको रहेको छ।

मधेसका अधिकांश विद्यालयमा १०० देखि ३०० सय सम्म विद्यार्थी कोचिएको विद्यालयमा तत्काल सेक्सन छुट्याई अपुग शिक्षक र आवश्यक भौतिक संरचना पूर्ति गर्नुपर्ने, विद्यार्थीको जनसंख्या हरेक वर्ष वृद्धि हुने हुनाले विद्यार्थी शिक्षक अनुपात मिलाउनका लागि प्रत्येक वर्ष विद्यार्थी भर्ना अभियानसँगै अपुग हुने शिक्षक दरबन्दी वैशाख महिनाको पहिलो साताभित्र शिक्षक सेवा आयोग खोली अनिर्वाय रुपमा पूर्ति गर्ने व्यवस्था गर्नुपर्ने माग आजपाले गरेको छ।

प्रकाशित मिति: : 2024-07-07 14:59:00

प्रतिकृया दिनुहोस्