हार स्वीकार गर्दै प्रधानमन्त्री सुनकले भने- बेलायतका जनताले सम्मानजनक निर्णय गरे

बेलायती प्रधानमन्त्री तथा कन्जरभेटिभ पार्टीका नेता ऋषि सुनकले आफ्नो हार स्वीकार गरेका छन्।

उनले लेबर पार्टीका नेता कियर स्टारमरलाई विजयको लागि बधाई दिएका छन्।

‘बेलायतका जनताले सम्मानजनक निर्णय गरेका छन्। यसबाट धेरै कुरा सिक्न आवश्यक छ। हारको जिम्मेवारी लिन्छु’, उनले भने।

ऋषि सुनकले योर्कशायरको रिचमण्ड सिटबाट भने जितेका छन्। सिट जितेपछि उनले आफ्नो मन्तव्यमा भने, ‘चुनावमा लेबर पार्टीले जितेको छ। मैले कियर स्टारमरलाई उनको जितमा बधाई दिएँ।’

सन् २०१९ को चुनावमा कन्जरभेटिभ पार्टीले ६५० सिट भएको संसदमा ३६४ सिट जित्यो र बोरिस जोनसन प्रधानमन्त्री बने। अघिल्लो पटकको तुलनामा ४७ सिट बढेको थियो। तर यसपटक अवस्था बिल्कुल उल्टो छ। बेलायतमा १४ वर्षपछि लेबर पार्टी सत्तामा फर्किएको छ।

अहिलेसम्म परिणाम अनुसार लेबर पार्टीले ३९२ सिट जितिसकेको छ। त्यस्तै कन्जरभेटिभले अहिलेसम्म ९९ सिटमा जित हासिल गरेको छ। जुन अघिल्लो निर्वाचनको तुलनामा २२० सिट कम हो।

प्रकाशित मिति: : 2024-07-05 11:53:00

प्रतिकृया दिनुहोस्