शासककाे सान

Break n Links
Break n Links

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली शासक किम जोङ उनका भिडियो र तस्बीर अहिले सामाजिक सञ्जाल र मिडियामा भाइरल भइरहेका छन्।

हालै पुटिनले उत्तर कोरियामा गरेको भ्रमणका अवसरमा आफै गाडी चलाएको भिडियो र तस्बीर भाइरल भएका हुन्। पुटिन र किमले यस भ्रमणका क्रममा पालै पालो गाडी चलाएको तस्बीरहरुमा देख्न सकिन्छ। पुटिनले गाडी चलाउदा किम नजिकैको अगाडिको सिटमा बसेर कुरा गरिरहेको देख्न सकिन्छ भने किमले गाडी चलाउदा पुटिन अगाडिको सिटमा बसेको र दुवै जना हाँस्दै कुरा गरिरहेको देख्न सकिन्छ।

रिपोर्टका अनुसार पुटिनले किमलाई अर्स लिमोसिन लक्जरी कार उपहार दिएका थिए। यस भ्रमणका क्रममा पनि पुटिनले किमलाई एउटा स्किभर र चिया सेट पनि उपहार दिएको बताइएको छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले २४ वर्षपछि बुधबार बिहान उत्तर कोरियाको भ्रमण गरेका हुन्। यस भ्रमणमा किम आफैले विमानस्थल पुगेर पुटिनको स्वागत गरेका थिए। पुटिनसँग १० रुसी मन्त्री र अधिकारीहरूको प्रतिनिधिमण्डल उपस्थित थियो। जसमा परराष्ट्र मन्त्री सर्गेई लाभरोभ र रक्षामन्त्री एन्ड्रे बेलोसोभ सामेल थिए।

रुसी राष्ट्रपतिको स्वागतका लागि विमानस्थलमा रातो कार्पेट बिछ्याइएको थियो र उनको भव्य स्वागत गरिएको थियो। पुटिनलाई राजधानी प्योङयाङको सिटी स्क्वायरमा औपचारिक स्वागत गरिएको थियो। चोकलाई रंगीन बेलुनले सजाइएको थियो।

पुटिनको गाडी हेर्न हजारौं मानिस सडकमा भेला भएका थिए। उनीहरुको हातमा रुस र उत्तर कोरियाको झण्डा थियो। यसबाहेक केही भवनमा पुटिन र किम जोङका ठूला पोस्टर पनि टाँसिएका छन्। पुटिनलाई सहरको चोकमा स्वागत गर्न मिलिटरी ब्याण्डले दुवै देशको राष्ट्रिय गान बजाएको थियो। यस क्रममा त्यहाँ जम्मा भएका बालबालिकाको हातमा रंगीन फूलहरु पनि राखिएको थियो। कार्यक्रममा किम जोङकी बहिनी किम यो जोङ पनि त्यहाँ उपस्थित थिइन्।

यस भ्रमणका क्रममा पुटिनले नयाँ आधारभूत दस्तावेज पनि घोषणा गरे, जसले दुई देशबीचको सम्बन्धको जग बनाउने विश्लेषण गरिएको छ। पुटिनले गत वर्ष किम जोङको रुस भ्रमणका क्रममा दुई देशबीचको सम्बन्ध सुदृढ भएको बताए। अब यो साझेदारीलाई अगाडि बढाउन नयाँ आधारभूत दस्तावेज बनाइएको छ।

प्रकाशित मिति: : 2024-06-22 14:31:00

प्रतिकृया दिनुहोस्